प्यूठान । ऐरावती गाउँपालिकामा रहेका आधारभुत तह (कक्षा १–३)का विद्यालयमा कार्यरत शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम संचालन भैरहेको छ । पाँच दिने तालिम शुक्रबारदेखि जुम्रिमा शुरु भएको हो ।
तालिममा एकीकृत पाठ्यक्रममा आधारित शिक्षण सिकाईको अवधारणा, पाठ्यक्रम तथा पाठ्य सामाग्री प्रयोग र एकीकृत सिकाई सहजिकरण, पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका वीच सम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिइने कालिका विकास केन्द्र नेपालका कार्यक्रम संयोजक विनोद पोख्रेलले जानकारी दिनुभयो । तालिममा नमुना पाठ प्रस्तुती र सुक्ष्म शिक्षण अभ्यास समेत गरिने उहाँले बताउनुभयो ।
तालिममा १३ वटा विद्यालयका २६ जना शिक्षकहरुको सहभागीता रहेको छ । तालिमको सहकजिकरण प्रमोद न्यौपानेले गर्नुभएको छ ।
कालिका विकास केन्द्र नेपाल र स्ट्रोम फाउण्डेसन नेपालको साझेदारीमा गाउँपालिकामा संचालित उत्थानशील समुदाय विकासको लागि समावेशी जीविकोपार्जन र शिक्षामा सवलिकरण कार्यक्रम अन्तरगत तालिम संचालन भएको हो ।





