प्यूठान, २७ बैशाख । प्यूठान अस्पतालमा तीन वटा आइसोलुसन बेड थप गरिएको छ ।
जिल्ला समन्वय समिति, मल्लरानी गाउँपालिका र गौमुखी गाउँपालिकाको सहयोगमा तीन वटा बेड थप गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पन्थले बताउनुभयो ।
जिल्ला समन्वय समिति प्यूठानले आइसोलुसन बेड निर्माणका लागि पाँच लाख रुपियाँ सहयोग गरेको छ । त्यसैगरी मल्लरानी गाउँपालिकाले दुई लाख ५० हजार र गौमुखी गाउँपालिकाले दुई लाख ५० हजार रुपिँया सहयोग गरेको छ । जिल्लाका अन्य स्थानीय तहले समेत आइसोलुसन बेड थप्न सहयोग गर्ने जनाएका छन् ।
शुरुमा चार बेडको आइसोलुसन बेड बनाइएको थियो, उहाँले भन्नुभयो, अहिले तीन वटा बेड थप गरिएको छ । आइसोलुसन बेड बनाउनका लागि जिल्ला समन्वय समितिसँगै जिल्लाका स्थानीय तहले सहयोग गरेका छन् ।
