प्यूठान । प्यूठान अस्पतालमा हेमोडायलाईसिस सेवा र नवजात शिशु बिशेष हेरचाह कक्ष (एसएनसीयु) संचालनमा ल्याइएको छ । सोमबार एक कार्यक्रमका बिच सेवा संचालन ल्याइएको हो ।
नसर्ने रोगहरुको स्थिती भयावह भन्दै गएकोले खानपानमा सबैले ध्यान दिनुपर्ने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले बताउनुभयो । अस्पतालमा सेवा शुभारम्भ गर्दै उनले नसर्ने रोगहरुको उपचारमा ब्यक्ति र राज्यको ठूलो धनराशि खर्छ हुने गरेको उहाँले बताउनुभयो ।
विभिन्न निकायको सहयोगमा हेमोडायलाईसिस सेवा संचालनमा ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पौडेलले जानकारी दिनुभयो । लायन्स क्लव, प्रदेश स्वास्थ्य मन्त्रालय, स्थानीय पालिकाहरु लगायतको सहयोगम सेवा संचालनमा ल्याइएको हो ।
डायलाईसिस सेवा संचालनका लागि ६ वटा बेड र ८ वटा मेसिन स्थापना गरिएको छ । जिल्लामा ८६ जना मिर्गौला रोगका बिरामी रहेका छ्न । उनीहरुले जिल्ला बाहिरबाट सेवा लिनुपर्ने बाध्यता अब हट्ने अस्पतालले जनाएको छ ।
शल्यक्रिया सहितको प्रसुति सेवा दिँदै आएको अस्पतालमा एसएनसीयु संचालनले नवजात शिशुको स्याहारमा थप गुणस्तरीय सेवामा महत्वपूर्ण सहयोग पुग्ने अस्पताल बिकास समितिका अध्यक्ष विजयविराज बिष्टले बताउनुभयो । एसएनसीयु संचालनका लागि मल्लरानी ग्रामीण सरोकार केन्द्रले समेत सहयोग गरेको छ ।
प्यूठानसँगै लुम्बिनी प्रदेशका रोल्पा र रुकुम पुर्व जिल्ला बाहेक १० वटै जिल्ला अस्पतालमा डायलाईसिस सेवा संचालनमा आएको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले बताउनुभयो ।

