> स्थानीय सरकार > गौमुखी गाउँपालिकामा ४१ जनाको मोतियाबिन्दुको शल्यक्रिया


गौमुखी गाउँपालिकामा ४१ जनाको मोतियाबिन्दुको शल्यक्रिया

प्यूठान । गौमुखी गाउँपालिकामा संचालित आँखा परिक्षण उपचार तथा स्क्रिनीङ्ग शिविरमा ४१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

 

गौमुखी गाउँपालिका र लमही आँखा अस्पतालको संयुक्त आयोजनमा गरिएको शिबिरमा ६०६ जनाको उपचार गरिएकोमा ४१ जनाको शल्यक्रिया गरिएको गाउँपालिकाका उपाध्यक्ष महबीर रानाले जानकारी दिनुभयो । लमही आँखा अस्पतालका प्रमुख नेत्र विशेषज्ञ प्राध्यापक डाक्टर प्रदिप बास्तोला सहितको बिशेषज्ञ टिम शल्यक्रिया गरेको हो ।

 

शिविरमा आँखा सम्बन्धी समस्याको पहिचान, दृष्टिदोष, मोतिबिन्दु लगायत आँखा रोगको परीक्षण, शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूको पहिचान गरी शल्यक्रिया गरिएको नेत्र बिशेषज्ञ बास्तोलाले बताउनुभयो । दृष्टि कमजोर भएका व्यक्तिहरूको दृष्टि सुधार तथा चस्मा वितरण, आँखा रोगका कारण हुन सक्ने अन्धोपन तथा दृष्टि अपाङ्गता लगायत विषयमा सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ ।

 

पालिकाका सबै वडामा संचालन गरिएको शिविरमा नागरिकहरूलाई घर नजिकै सुलभ, गुणस्तरीय तथा पहुँचयोग्य आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने, बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिम समूहमा आँखा समस्याको स्क्रिनिङ तथा आवश्यक रेफरल सेवा सुनिश्चित गरिएको उपाध्यक्ष रानाले बताउनुभयो ।