राजनीति

एमाले प्यूठानले दोश्रो चरणको चुनावी अभियान थाल्दै, उम्मेदवार सहित मतदातासँग भेट्ने

प्यूठान । नेकपा (एमाले) प्यूठानले दोश्रो चरणको चुनावी अभियान थाल्ने भएको छ । पालिका स्तरीय अगुवा कार्यकर्ता भेला गरेर पहिलो चरणको अभियान सम्पन्न गरेको एमालेले शनिबार (आज)देखि दोश्रो चरणको अभियान थाल्न लागेको हो ।

 

प्यूठान जिल्ला प्रवेशद्धारको रुपमा रहेको सरुमारानी गाउँपालिकाबाट उम्मेदवार सहित मतदाताहरुसँग भेटघाट अभियान थालनी गर्ने एमाले प्यूठान अध्यक्ष विजयविराज विष्टले बताउनुभयो । प्रतिनिधि सभाको कार्यकाल पुरा हुन नपाउँदै हुन लागेको निर्वाचनका बारेमा मतदातासँग धारणा स्पष्ट पारिने उहाँले उल्लेख गर्नुभयो । ‘पाँच वर्षका लागि प्यूठानी मतदाताले प्रतिनिधि छान्नुभयो ।’ ,उहाँले भन्नुभयो, ‘कार्यकाल पुरा हुन नपाउँदै आकस्मिक हुन लागेको निर्वाचन बारे मतदातालाई स्पष्ट पार्छै ।’

 

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले पार्टीका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्य सूर्य थापालाई उम्मेदवार बनाएको छ । अहिल्लो निर्वाचनमा मतदातासँग गरेका वाचाहरुका बारेमा समेत अभियानका वेला प्रत्यक्ष साक्षात्कार गर्ने एमालेले योजना बनाएको छ । ‘हामीले प्रतिवद्धता गरेको कतिपय कामहरु सम्पन्न भएका छन्, कति कार्यान्वयनको चरणमा छन् ।’ ,उम्मेदवार थापाले भन्नुभयो, ‘तीन वर्षे कार्यकालमा भएका काम र आगामी दिनमा गर्ने कामका बारेमा स्पष्ट पार्छै ।’

 

जिल्लाका समसामयिक विकासमा संसदमा उठाएका मुद्धा, नीति निर्माणका लागि संसदमा खेलेको भुमिका र सहकारी बचत रकम दुरुपयोग छानविन संसदीय समितिको सभापति भएर निर्वाह गरेको महत्वपूर्ण भुमिकाका बारे अभियानका क्रममा मतदातालाई स्पष्ट पार्ने उम्मेदवार थापाले बताउनुभयो ।

Related Articles

Back to top button