प्यूठान । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा रहेका गठबन्धन सम्वद्ध दलहरुबीच चुनावी तालमेलको निर्णय हुन सकेको छैन । आज बैशाख ३ गतेसम्म जिल्लाबाट तालमेल गरि प्रदेशमा पठाउनुपर्ने केन्द्रको समयावधिभित्र जिल्ला स्तरमा तालमेल हुन नसकेको हो ।
आज गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्टिय जनमोर्चाबीच छलफल भएको थियो । तर छलफल निष्कर्ष विहीन भएको बैठकमा सहभागी एक नेताले बताए । प्राविधिक कारणले गर्दा जिल्ला स्तरमा तालमेल गर्न नसकिएको भन्दै स्थानीय तह अनुसार तालमेल गर्ने भद्र सहमति भएको उनले प्यूठान समाचारलाई जानकारी दिए ।
उनका अनुसार स्थानीय स्तरमा पनि तालमेल गर्न केहि दिन लाग्नेछ । स्थानीय स्तरमा तालमेल गर्नका लागि गठबन्धनमा आवद्ध दलहरुलाई सूचना गरिने उनले जानकारी दिए । यसैबीच नौबहिनी गाउँपालिकामा जनमोर्चा बाहेक तालमेल गर्ने गरि गठबन्धनका दल अघि बढेका छन् ।
