प्यूठान । चालु आर्थिक वर्षमा हुने विकास आयोजना कार्यान्वयनको अवस्थामा समस्या समाधानका लागि सर्वपक्षिय बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्यूठानको आयोजनमा माण्डवी गाउँपालिकामा बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयहरुले पालिकामा संचालन हुने आयोजनाको अवस्था र समन्वयका बारेमा प्रगति सुनाएका थिए । ऐन नियमको कारण देखाएर कर्मचारीहरुले काममा तदारुकता नदेखाउने गरेको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले आरोप लगाउनुभयो । समस्या समाधानका लागि ऐन नियम सुधार गर्न सकिने अवस्थामा सुधार गरेरै भए पनि स्थानीयको चाहना र आवश्यकताका आधारमा विकास योजनाहरु कार्यान्वयनमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले राजनीतिक नेतृत्वले कर्मचारीलाई र कर्मचारीले राजनीतिक नेतृत्वलाई दोष देखाएर सुशासन कायम हुन नसक्ने उल्लेख गर्नुभयो । सुशासन कायम गर्न सवै पक्षको सहकार्य आवश्यक रहेको भन्दै उहाँले पूर्वाधार निर्माणलाई मात्र विकास नसम्झेर सामाजिक विकास तर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो । सुधारोन्मुख एसईई परीक्षालाई निर्वाचनले प्रभावित पार्न नहुने भन्दै उहाँले आत्महत्याका घटना न्यूनिकरणका लागि अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभयो । लामो समयदेखि कार्यान्वयनमा बाधा पुगी रुग्ण अवस्थामा रहेका योजनाहरु टुङ्गो लगाएर अघि बढ्नुपर्ने अहिलको आवश्यकता रहेका उहाँले बताउनुभयो ।
माण्डबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारीले चालु आर्थिक वर्षको हालसम्म सन्तोषजनक प्रगति हाँसिल गर्न नसकेको उल्लेख गर्नुभयो । प्रदेश सरकार मार्फत प्राप्त हुने विकास आयोजनाको बजेट सुनिश्चित नहुँदा कार्यान्वयनमा समस्या भएका उहाँले बताउनुभयो । बजेट प्राप्त हुने निश्चित नहुँदा बजेट घटेर आउने सम्भावनाले कार्यान्वयनमा चुनौती देखिएको उहाँको भनाई थियो ।
आधारभुत शिक्षा अनिवार्य र निःशुल्क शिक्षालाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने चुनौती रहेको शिक्षा विकास तथा समन्वय इकाइ प्यूठानका प्रमुख दुर्गा खड्काले बताउनुभयो । कोभिड १९ पछि विद्यार्थीको पढाईमा परेको समस्या समाधानका लागि रियल प्लान कार्यान्वयन गर्न उहाँले पालिकाहरुलाई सुझाव दिनुभयो । शिक्षाको क्षेत्रमा संघीय सरकारबाट प्राप्त हुने कतिपय बजेट शिर्षकहरु फ्रिज हुने अवस्था देखिएकोले कार्यान्वयनमा उहाँले जोड दिनुभयो ।
क्रमागत योजनाहरुमा प्राप्त हुने बजेट यस पटक प्राप्त नभएकाले सडक मर्मत तथा विस्तारको योजनाहरु मात्र कार्यान्वयनमा रहेको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख दिपक सुनारले बताउनुभयो ।
कार्यक्रममा जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय, वन डिभिजन कार्यालय, बुटवल पावर कम्पनी लगायत कार्यालयले यसवर्ष संचालनमा रहने कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै माण्डवी गाउँपालिकाका वडाध्यक्षहरुले प्रदेश तथा संघ अन्तरगतका कार्यालयहरुले योजना निर्माणका क्रममा समन्वय नगर्ने र बजेट भुक्तानीका लागि सिफारिस खोज्दा बिकास आयोजना बारे जानकारी नै नहुने अवस्था रहेको उल्लेख गरेका थिए । वडा नं. २ का वडा अध्यक्ष प्रकाश अधिकारीले पहिरो गएको ४ वर्ष वित्न लाग्दा समेत पीडितहरुको पुनःस्थापनाको काम हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । ३ नं. वडाका अध्यक्ष धनेन्द्र कार्कीले जिल्ला दररेट व्यवसायीलाई हेरेर नभई बजार हरेर निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले विकास आयोजनाका बारमो स्थानीयलाई यथेष्ट जानकारी हुनुपर्नेमा जोड दिनुभयो । आयोजनाहरुको सूचना पाटी अनिवार्य राख्ने व्यवस्था मिलाउन उहाँले कार्यालयहरुलाई आग्रह गर्नुभयो । योजना कार्यान्वनय क्रममा सुरक्षा निकायको तर्फबाट आवश्यक पर्ने सहयोगका लागि आफुहरु प्रतिवद्ध रहेको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरमबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख दुर्गा रेग्मी, माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण कालाथोकी, जिल्ला समन्वय समितिका सदस्य, माण्डवी गाउँपालिकाका कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाका जनस्वास्थ्य अधिकृत ध्रुव पोख्रेलको संचालनमा भएको कार्यक्रममा कार्यक्रमको उद्देश्य र स्वागत मन्तव्य जिल्ला समन्वय अधिकारी भोजबहादुर भण्डारीले राख्नुभएको थियो ।












