प्यूठान । लुम्बिनी प्रदेश सरकार मार्फत आर्थिक बर्ष २०८२/०८३ मा स्थानीय स्तरमा हुने बिकास आयाेजना र कार्यान्वय प्रकृयाका बारेमा नौबहिनी गाउँपालिकामा अन्तरक्रिया तथा छ्लफल गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा गरिएको अन्तर सरकारी अनुगमन समन्वय तथा अन्तर्कृया कार्यक्रममा जिल्ला स्थित सबै प्रदेश अन्तर्गतका कार्यालयका प्रमुख तथा प्रतिनिधिले कार्यक्रम बारे जानकारी गराएका थिए ।
आयोजनाहरुको प्रभाबकारी कार्यान्वयन र सुशासनका लागि समन्व आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसिले बताउनुभयो । सबै सराेकारवाला, बिषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि बिचकाे छलफलले बिकास निर्माणमा याेजना नदाेहाेरिने, प्रभाबकारी कार्यान्वयमा महत्त्व राख्ने उहाँको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले शान्ति सुरक्षाले सेवा प्रवाहमा महत्त्वपूर्ण भुमिका राख्ने भएकाले घरेलु मदिराकाे कारणले सेवा प्रभाबित हुने गरेकाे, बिकास निर्माण, सुशासन, अनुगमन, मुल्यांकन, समन्वय र सहकार्यमा देखिएका कमजोरी र समस्या समाधानका यस्ता कार्यक्रमले सहजता हुने उल्लेख गर्नुभयो । स्थानीय सरकार स्वायत्त अधिकार प्राप्त निकाय भएपनि बिषयगत कार्यालयसँग स्थानीय तहले समन्वय बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, आत्महत्या नियन्त्रण तथा यातायात क्षेत्रमा क्षमता भन्दा बढि यात्रु राख्ने र त्यसबाट हुन सक्ने क्षति न्युनिकरणमा विशेष ध्यान दिने गरेको प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताउनुभयो । चुनाब केन्द्रित शान्ति सुरक्षाका बियषमा पनि विशेष सुरक्षा याेजना साथ अगाडि बढेकाे उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमका बिषयगत कार्यालयले गरेका याेजनाका बिषयमा उठेका सबालमा सम्बन्धित कार्यालय प्रमुखले जवाफ दिएका थिए ।
कार्यक्रमकाे उदेश्य बारे जिल्ला समन्वय अधिकारी भाेज बहादुर भण्डारीले प्रष्ट पार्नुभएको थियो । नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले प्रदेश स्तरबाट कार्यान्वयन हुने बिकास निर्माणमा केही निर्माण ब्यबसायीका कारण समयमै याेजना सम्पन्न नहुने र याेजना अलपत्र रहने समस्या रहेकाे उल्लेख गर्नुभयो ।
