प्यूठान । गौमुखी गाउँपालिका–६ लिवाङ र पुजा जोड्ने ओखरपाटाको पहिरोले यहाँका स्थानीयलाई आवत–जावतमै समस्या भएको छ । सडक पहिरोले गर्दा पूर्ण रुपमा बन्द छ ।
भृकुटी माध्यमिक विद्यालय लिवाङ आउने विद्यार्थीहरुलाई निक्कै समस्या भएको स्थानीय विजयकुमार ओलीले बताउनुभयो । लिवाङको बोगटे, घोप्टे, लाम्बेला, सिस्ने र पुजाको गोठाटीका ७० जना बढि विद्यार्थीहरुलाई विद्यालय आउन समस्या भएको उहाँले बताउनुभयो ।
२०७४ सालमा श्रमदानबाट मोटरबाटो निर्माण शुरु गरिएको स्थानीय मानबहादुर खत्रीले बताउनुभयो । वर्षेनी जाने पहिरोले हैरानी व्यहोर्नुपरेको भन्दै उहाँले यसको दिर्घकालिन समाधान खोज्नु पर्ने उल्लेख गर्नुभयो । पहिरोले यहाँ करिव ९ वटा खानेपानी आयोजना र दुई वटा सिंचाई कुलामा क्षति पुगको छ । ‘बगरा खोलाबाट लिवाङ गाउँमा खानेपानी लैजाने गरिएको छ ।’ ,उहाँले भन्नुभयो, ‘आकासबाट पानी पर्न थालेपछि खानेपानीको पाईप सुरक्षा कसरी गर्ने ? भन्ने चिन्ता हुन्छ ।’ पहिरोले पाइप बगाउने भएपछि जमिन मुनि गाडिएका पाईप अहिले जमिन बाहिरै छन् ।
मोटरबाटो निर्माणले यहाँ भएका खेतहरुमा क्षति पु¥याएपछि धान खेति हुन छोेडेको स्थानीय थम्मन पुनले बताउनुभयो । ‘पहिले ८ पाथी धानको विऊ राख्ने गथ्र्याैं ।’ ,उहाँले भन्नुभयो, ‘अहिले खेतको नाम निसान छैन ।’ पहिरोका कारण स्टेचरमा विरामी बोक्न समेत समस्या हुने गरेको छ । यहाँका स्थानीय उपचारका लागि लिवाङ स्वास्थ्य चौकी आउने गर्दछन् । वर्षायाममा घर–घरमा खाद्यान्न पु¥याउन समेत समस्या हुने गरेको उहाँले बताउनुभयो ।











