> राष्ट्रिय > पिसिआर मेसिन सहितको ल्याव स्थापना गर्न पहल शुरु


पिसिआर मेसिन सहितको ल्याव स्थापना गर्न पहल शुरु

प्यूठान, १ असार । कोरोना संक्रमण परीक्षणका लागि प्यूठानमै पिसिआर मेसिन सहितको ल्याव स्थापना गर्न पहल शुरु भएको छ । सोमवार जिल्ला समन्वय समितिको सहभाल खलंगामा भएको जिल्ला विपत्त व्यवस्थापन समितिले यस्तो ल्याव संचालन गर्ने निर्णय गरेको हो ।

स्थानीय, प्रदेश र संघीय सरकारलाई ल्याव स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिनुभयो ।

प्यूठानमा संकलन गरिएको स्वाव परीक्षणका लागि दाङ, बुटवल र नेपालगञ्ज पठाउनु पर्ने बाध्यता छ । प्रदेश ५ का १२ जिल्लाबाट संकलन भएका स्वाव तीन ठाऊँबाट मात्र परीक्षण हुँदा रिपोर्ट ढिलो आउँदा समस्या झेल्नु परेको स्थानीय सरकार प्रमुखहरुले बताउँदै आएका छन् ।

बैठकले ल्याव स्थापनाको स्पष्ट कार्ययोजना तयार गर्न जिल्ला अस्पताल व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ । प्रदेश र संघीय सरकारले गर्ने सहयोगका आधारमा स्थानीय सरकारले सहयोग गरी ल्याव संचालन गरिने जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले बताउनुभयो ।

रोल्पा र प्यूठान जिल्लाका स्वावहरु एकै ठाऊँबाट परीक्षण गर्ने वातावरण भएमा ल्याव स्थापनाका लागि देविस्थान स्वास्थ्य चौकी उपलब्ध गराउन तयार रहेको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बैठकमा बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *