भुवन केसी
प्यूठान । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था बाग्दुला शाखाले समुहका सदस्यहरुलाई पशुपालन समवन्धी तालिम दिएकोछ । सदस्यहरुको आयआर्जनमा बृद्धि ल्याउने उद्देश्यले एक दिने तालिम संचालन गरिएको हो ।
शाखा अन्तर्गत रहेका ४५ वटा सक्रिय केन्द्रका सदस्यहरूलाई दिइएको तालिमको सहजीकरण विष्णु केसीले गर्नुभएको थियो । तालिममा बाख्रा तथा भैसीपालनका व्यवहारिक पक्ष, सहि खोर निर्माण, पोषण व्यवस्था, रोग पहिचान र उपचार, खोप तालिका तथा बजार व्यवस्थापन सम्वन्धी प्रशिक्षण दिइएको उहाँले बताउनुभयो ।
सुलिचौर स्टेशनका म्यानेजर राजु कवरले जीवन बीमा, समूह मजबुती र पशुपालनका सम्भावनाहरूबारे धारणा राख्नुभएको थियो । तालिमको उद्घाटन सत्रमा बोल्दै प्यूठान नगरपालिका–७ का वडाध्यक्ष नेत्रबहादुर केसीले ग्रामीण अर्थतन्त्रको आधर स्तम्भ पशुपालन भएकोले यहाँका महिलाहरु प्रशिक्षित हुनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमकै अवसरमा उत्कृष्ट केन्द्रहरूलाई सम्मान गरिएको छ । विभिन्न विधामा सम्मानित हुने केन्द्रहरूमा चुजाँ (०३६), बुकीडाँडा (०२५), जुम्रिकाँडा (०३४), खोलीगाउँ (०३७) र चुन्दरी खोला (०२०) रहेका छन् ।
म्यानेजर राजु कवरको अध्यक्षता, वडाध्यक्ष नेत्रबहादुर केसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक चन्द्रबहादुर घर्ति मगर, स्थानीय समाजसेवी शिवबहादुर पाण्डे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन केशब कुमालले र स्वागत मन्तव्य शाखा प्रमुख प्रतिक्षा महराले राख्नुभएको थियो ।
