प्यूठान । नाम चेतकला केसी हो । मेरो घर माण्डवी गाउँपालिका–३ लामाचौर । आम्दानीका श्रोतहरु खोज्दै जाँदा नगदेबाली जस्तै लाग्यो, फूलखेति र गएको वर्ष खेति शुरु गरे । शुरुमा केहि थाहा थिएन । खेति देखेर गाउँपालिकाले तालिमका लागि नेपालगञ्ज खजुर पठायो ।
प्रदेश स्तरीय एक हप्ताको तालिम लिए । यसवर्ष खेति विस्तार गरे । १ हजार ३ सय बर्गमिटर क्षेत्रफलमा फूल खेति गरेकी छु । तिहारको सिजनमा फूलको माग बढि हुने गर्दछ । गतवर्ष करिव ६० हजार रुपैंयाको फूल बेचेँ । यसपालिका १ हजार भन्दा धेरै बिक्रि हुन्छ । लोकल, कलकत्ते, टेनिस जातका सयपत्री फूल फुलेका छन् । तिहार लागेसँगै फूलको माग आइ रहेका छन् ।
ग्राहकहरु घरमै आउनुहुन्छ । दैनिक २५/३० किलो विक्रि भैरहेको छ । ५/६ सय रुपैंया फूटकर र साढे ३ सय रुपैंया थोक विक्रि गर्ने गरेकी छु । अरु खेतिमा भन्दा फूलका विऊ, विषादी, भिटामिन महंगो पर्दाे रहेछ । टनेलमा पनि फूल खेति गरेको छु । टनेल निर्माणमा गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको छ ।
रोजगारीको क्रममा भारत रहनुभएका श्रीमान् कोरोनाकालदेखि सम्पर्कमा हुनुहुन्न । गएको साउनमा ६ वर्ष पुग्यो, सम्पर्क नभएको । १६ वर्षको छोरा छ । माण्डवी माध्यमिक विद्यालय नयाँगाउँमा कक्षा १० मा पढ्छ । पढाई राम्रो छ । जेहन्दार विद्यार्थी भएकाले वडा र गाउँपालिकाको सिफारिसमा विद्यालयले निःशुल्क पढाउँछ । फूलखेति मेरो घर चलाउने सहारा बनेको छ ।
(चेतकला केसीसँगको कुराकानीमा आधारित)
