> समाज > लकडाउनले यातायात नचल्दा अदालतको सेवा प्रभावित


लकडाउनले यातायात नचल्दा अदालतको सेवा प्रभावित

प्यूठान, १० भाद्र । प्यूठान जिल्ला भित्र यातायातका साधन बन्द हुँदा प्यूठान जिल्ला अदालतको सेवा प्रभावित भएको छ ।

जिल्ला स्तरीय सङ्कट व्यवस्थापन केन्द्रले भदौ २ गतेदेखि १५ गतेसम्मका लागि लकडाउन घोषणा गरेपछि यातायात बन्द रहेका कारण अदालतबाट प्रदान गरिने सेवा समेत प्रभावित भएको हो ।

यातायातका कारण सेवाग्राहीलाई समस्या परेपछि जिल्ला अदालत बार बेञ्चको संयुक्त बैठकले साप्ताहिक तथा दैनिक पेशी सूचीमा चढेको मुद्धाको सुनुवाई स्थगित गर्ने निर्णय गरेको अदालतका श्रेस्तेदार विरेन्द्र प्रकाश खड्काले बताउनुभयो ।

पक्राउ पुर्जी अनुमति, म्याद थप स्वीकृति र म्याद थप लगायतका कार्य भने नरोकिएको उहाँले जानकारी दिनुभयो । अभियोग पत्र दर्ता, थुनछेक बहसलाई निरन्तरता दिने निर्णय भएको उहाँले बताउनुभयो । १५ गतेपश्चात पनि यातायात सञ्चालन नभएको अवस्थामा पुनः बैठक बसेर थप निर्णय गरिने उहाँको भनाई छ ।

मुद्धा फस्छ्यौटमा कमी
लकडाउनकै कारण अघिल्लो वर्ष लक्ष्य अनुसारको मुद्धा फस्छ्र्यौट हुन नसकेको समेत उहाँले बताउनुभयो । अघिल्लो वर्ष ३३३ थान मुद्धा फस्छ्यौट गर्ने लक्ष्य लिएकोमा २१० थान मात्र मुद्धा फस्छ्यौट भएको छ । १४८ थान मुद्धा सरेर यस वर्ष आएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *