प्यूठान । प्यूठान नगरपालिकाको लापरवाहीले स्काभेटर र व्याकहोलोडर प्रयोगविहिन भएका छन् । प्रयोग विहिन भएको वर्षाे वित्दा समेत यसको संचालन र व्यवस्थापनमा नगरपाालिकाले ध्यान दिएको छैन ।
तत्कालिन जिल्ला विकास समितिबाट प्राप्त भएको स्काभेटर अहिले प्यूठान नगरपालिका–७ लिपिकोटमा थन्कीएको छ । ‘५/७ वर्ष भैसक्यो यहाँ थन्कीएको ।’ ,एक स्थानीयले भने, ‘यसका सबै सामान चोरी भएर सकिन लागि सक्यो, नगरपालिकाले ध्यान दिँदैन ।’ मर्मत गरेर संचालनमा आउन सक्ने मेसिन नगरपालिकाको वेवास्ताकै कारण वेवासरिसे अवस्थामा पुगेको स्थानीयको भनाई छ । ‘काम नलाग्ने भए लिलाम गरे पनि हुने ।’ ,ती स्थानीयले भने, ‘ठाऊँमा लिएर नराख्दा बाटोमा रमिता भएको छ ।’
नगरपालिकाले आफै खरिद गरेको व्याकहो लोडर पनि प्रयोग विहिन छ । नियमति सामान्य मर्मतमा ध्यान नदिँदा मेसिन थन्किएको एक कर्मचारीले बताए । ‘यहि नगरपालिकाको कार्यालयमा थन्किएको वर्षाैं भयो ।’ ,ती कर्मचारीले भने, ‘यसलाई संचालन गर्न कसैले ध्यान दिएका छैनन् ।’ नियमित संचालनमा नआउँदा मेसिन काम नलाग्ने हुने को की भन्ने उनले चिन्ता व्यक्त गरे । ‘मेसिन संचालनमा नआउँदा व्याकहो लोडरका अपरेटरले नगरपालिकालाई सूचना नै नगरी काम छोडेर हिँडेका छन् ।’ ,उनले भने, ‘सायद विदेश पुगि सके होलान् तर नगरपालिकाले चासो दिँदैन ।’
नगरपालिका आफैसँग भएको स्काभेटर व्याकहो लोडर प्रयोग विहिन हुँदा ग्रामीण सडकहरुको मर्मत सम्भार हुन सकेको छैन । सडकहरुको नियमित मर्मत सम्भारमा प्रयोग हुने मेसिनहरु संचालन नहुँदा सडक संचालनमा बाधा पुगेको छ ।
७/८ महिनादेखि व्याकहो लोडर प्रयोग विहिन भएको नगरपाकिलाका पुर्वाधार शाखा प्रमुख प्रेम नारायण पौडेलले बताउनुभयो । ‘सडकहरु मर्मतका लागि दुई प्याकेजमा टेण्डर भएको छ ।’ ,उहाँले भन्नुभयो, ‘१ देखि ५ नं. वडाका सडकहरु र ६ देखि १० वडाका सडकहरु मर्मत सम्भारका लागि छुट्टाछुट्टै टेण्डर भएको छ ।’ ३१ लाख र ३४ लाख गरी करिव ६५ लाखको लागतमा सडक मर्मतका लागि टेण्डर भएको उहाँले बताउनुभयो ।
अर्काे तर्फ सडकहरुको मर्मतका लागि टेण्डर भएको एक महिना वितिसक्दा समेत नगरपालिकाले निर्माण सम्झौता गरेको छैन । गत भदौं ३० गते टेण्डर खोलेर सडक मर्मतका लागि निर्माण व्यवसायीसँग सम्झौता गर्नुपर्ने नगरपालिकाले अहिलेसम्म सम्झौता नगर्दा सडक मर्मत हुन सकेको छैन ।





