प्यूठान
‘हा… अनेकथरी बिकृतिले समाजलाई घेरेर
यत्तिसम्म हुँदा सरकारबस्छ हेरेर
योग्यता अनुसार इलम देउ नारीलाई
अब त बिर्साई देउ पिरको भारीलाई’
शनिवार प्यूठानको विजुवारमा आयोजित तीज गीत प्रतियोगिताको भाका हो, यो । कानुनः महिला अधिकारहरु प्राप्त भएकाले आयआर्जनमा महिलाहरुलाई जोड्नुपर्ने प्रतियोगिहरुले गीत मार्फत जोड दिएका छन् ।
पछिल्लो समय तीज गीतका मौलिकताहरु हराउँदै गएको सहभागी महिलाहरुको भनाई थियो । महिला शसक्तिकरणका नाममा थुप्रै कार्यक्रमहरु सञ्चालन भए पनि आयआर्जनमा महिलाहरुको सहभागिता अझै दरिलो हुन नसकेको प्यूठान नगरपालिका वडा नं. १ का वडा अध्यक्ष साधना राउतले बताउनुभयो । `पुरुषहरु काममा जादाँ आम्दानी कति हुन्छ भन्ने चर्चा हुन्छ ।’ ,उहाँले भन्नुभयो, `महिलाहरुले जति काम गरेपनि त्यो आम्दानीसँग जोडिन सकेको छैन ।’ महिलाहरुलाई आर्थिक रुपमा शसक्तिकरण गर्न तीज पर्वलाई उपयोग गर्दै महिला उद्यमशिलता विषयक तीज गीत प्रतियोगिता आयोजना गरेको उहाँले बताउनुभयो । महिला माथि हुने विभेदका घटना न्यूनिकरणका लागि महिलाहरु आर्थिक रुपमा सक्षम हुनुपर्ने उहाँले आवश्यकता औल्याउनुभयो ।
शैक्षिक र सीपले महिलाहरु भरिपूर्ण भएपनि यसलाई आर्थिकसँग जोड्न नसक्दा महिलाहरु पछि परेको प्यूठान नगरपालिका-६ माझकोटकी शोभा मगरले बताउनुभयो । `शिक्षित भएर सक्षम हुँदा समेत महिलाहरुले रोजगारीका अवसर पाएका छैनन ।’ ,उहाँले भन्नुभयो, `महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर भएमा समाज सहि दिसामा अघि बढ्छ ।’ तीजका नाममा पछिल्ला भित्रिएका केहि विकृतिहरुले महिलाहरु प्रति हेर्ने दृष्टिकोण नकारात्मक भएको उहाँको दुखेसो छ ।
तीज पर्व आउन एक महिना अघिदेखि होटल तथा पार्टी प्यालेसहरुमा आयोजना गरिने भड्कीलो `दर खाने कार्यक्रम’ले तीज पर्वको सांकृतिक महत्व हराउँदै गएको हो । `साउन लाग्ने वित्तिकै दरखाने कार्यक्रमले सबै महिलाहरुको बद्नाम गराएको छ ।’ ,जिल्ला समन्वय समिति प्यूठानका सदस्य समेत रहनुभएकि प्यूठान नगरपालिका-१ खैराकी निर्मला पोख्रेलले भन्नुभयो, `पार्टी प्यालेसमा वियर सहित दरखाने महिलाहरुका कारण गाउँमा बोटमुनि बसेर तीज पर्व मनाउने महिलाहरुको समेत बद्नाम गराएको छ ।’ तीज आउन थालेपछि महंगा गहना र साडी प्रदर्शन गर्ने प्रतिपर्धाले तीज भड्कीलो भएको उहाँको गुनासो थियो । तडकभडक नगरी तीजलाई यसको मौलिकता कायम राख्दै मनाउनुपर्ने आवश्यकता रहेको पोख्रेलको भनाई थियो ।
तीजका नाममा विकृति बढ्दो रहेको महिला अधिकारकर्मी सुन्दरा केसीले स्विकार गर्नुभयो । `पुरुषहरु चर्काे गर्मिमा विदेशमा काम गर्नुपर्ने र महिलाहरु यहाँ मोजमस्ती गर्नेहरु पनि छन् ।’ ,उहाँले भन्नुभयो, `मोवाइल र सामाजिक सञ्जालले समेत महिलाहरुमा विकृति ल्याएको हो ।’ महिलाहरु कर्तव्य बोधको ख्याल गर्दै परिवारिक अवस्था अनुसारको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्यूठान नगरपालिकाको मेलमिलापकर्ता समेत रहनुभएकी उहाँले नगरपालिकामा परेका उजुरीहरु हेर्दा पुरुष समेत अन्यायमा परेको महसुस हुन थालेको बताउनुभयो ।
