प्यूठान । बेलुवा-बाग्दुला सडक स्तरोन्नतीका लागि भन्दै तोकिएको मापदण्ड भित्रका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको प्यूठान नगरपालिकाले स्थानीयसँग छलफल थालेको छ । स्थानीयलाई पर्ने समस्या र त्यसको समाधानको उपाय खोज्न नगरपालिकाले छलफल थालेको हो ।
बाटोको क्षेत्रमा पर्ने स्थानीयबासीहरुसँग छलफल शुरु गरिएको प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बताउनुभयो । स्थानीयलाई परेको समस्या सुन्न र समाधानका उपाय खोज्न वडा नं. १ र २ मा आईतबार छलफल गरिएको छ । वडा नं. ३, ४, ७ र ८ का स्थानीयसँग क्रमशः छलफल गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
हालको सडकको दायाँबायाँ ७.५/७.५ मिटर सडक विस्तार गर्न नगरपालिकाले स्थानीयसँग छलफल र प्राविधिक रेखाङ्कन विनै सार्वजनिक सूचना जारी गरेको भन्दै स्थानीयले आपत्ति प्रकट गरेका थिए ।
सडक अहिलेको आवश्यकता, नगरको समृद्धि र सभ्यतासँग जोडिएकोले यसको कार्यान्वयन आवश्यक रहेको नगर प्रमुख बिष्णु योगिले बताउनुभयो । सडक निर्माणको क्रममा घर जग्गा बिहिन हुनपुग्नेलाई पुनः स्थापनाका लागि नगरपालिकाले आवश्यक योजना बनाउने उहाँको भनाई थियो ।
छलफलबाट उठेका सवालहरु समाधानका लागि स्थानीयकै संलग्नतामा समन्वय समिति बनाई काम सुरु गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।
यो पनि पढ्नुहोस् :
