> राष्ट्रिय > सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका घटना बढ्यो


सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका घटना बढ्यो

प्यूठान । सन् २०२१ मा प्रेस स्वतन्त्रता हनन्का घटना बढेको छ । नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार सनु २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएकोमा यो वर्ष ६२ वटा घटना भएका छन् ।

 

६२ वटा घटनामा १९० जना पत्रकार पीडित भएका छन् भने ४ सञ्चारमाध्यम प्रभावित हुन पुगेका छन् । यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुव्र्यवहारका घटना घटेका छन् भने पेशागत असुरक्षाका १० वटा घटना भएको महासंघले जनाएको छ ।

 

त्यस्तै, कब्जा र अवरोधका १० वटा घटना भएका छन् भने पत्रकार आक्रमणका ५ वटा घटना भएका छन् । यसैगरी पत्रकार गिरफ्तारीका ४ वटा घटना भए भने नीतिगत बन्देजको १ घटना भएको महासंघको अभिलेखमा छ ।

 


त्यस्तै यो वर्ष संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसद्मा दर्ता गर्ने काम भएका छन् । संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती थपिदिएको महासंघको विज्ञप्तीमा उल्लेख छ ।

 

यस्तै कोरोना भाइरसको संक्रमणबाट यो वर्ष पनि पत्रकार प्रभावित भएका छन् । महामारी सुरु भएसँगै अहिलेसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । त्यसमध्ये सन् २०२१ मा २१ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको तथ्यांक छ ।

 

कोरोना महामारीको बहाना पत्रकारको पेशागत सुरक्षा प्रभावित हुन पुगेका छ । एक वर्षको अवधिमा कोरोना भाइरसको बहाना देखाएर विभिन्न सञ्चारगृहबाट ३५० जना पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने काम भएको छ । यसमध्ये झण्डै ३ सय जना पत्रकारको समस्या सम्बोधन भएको छ भने ५० जना पत्रकारको समस्या समाधानका लागि महासंघले कानूनी तथा दबाबमूलक पहल गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *