प्यूठान । जिल्लाभर झण्डै ४ हजार रोपनी क्षेत्रफलमा चैते धान खेति हुन थालेको छ । यस वर्ष ४ सय रोपनी क्षेत्र विस्तारसँगै ३ हजार ९९५ रोपनी क्षेत्रफलमा चैते धान खेति विस्तार भएको हो ।
मंगलबार आ.व. २०८१/८२ को बार्षिक समिक्षा कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ प्यूठानले चैते धान खेतिबाट जिल्लामा १ हजार ४८ मेट्रिकटन धान उत्पादन हुने जनाएको छ । उत्पादित धानबाट ४ हजार ६९३ जनालाई एक वर्षका लागि पुग्ने चामल उत्पादन हुने कार्यालयका प्रमुख चुमान सिंह गिरीले बताउनुभयो ।
यस आर्थिक वर्षमा कार्यालयले ९८ दशमलव ३ प्रतिशत भौतिक प्रगति र ९२ दशमलव ७४ प्रतिशत बित्तीय प्रगति हाँसिल गरेको उहाँले बताउनुभयो ।
आर्थिक वर्षको प्रगति बारे बताउँदै उहाँले स्थानीय तहमा तरकारी बीउ उत्पादन, चैते धानमा माछापालन प्रबिधि प्रदर्शन, धानवृद्धि बीउ कार्यक्रम, अदुवा बेसार चक्लाबन्दी खेती प्रबद्र्धन कार्यक्रम, कृषिमा यान्त्रिकरण सहयोग, सिचाई कुलो, पुर्वाधार निर्माण, कफिको नर्सरी स्थापना कार्यक्रम संचालन गरिएको उल्लेख गर्नुभयो । सञ्चालित कार्यक्रमले किसानको आयआर्जन बढाउनुका साथै जिल्लालाई आत्मनिर्भरता गराउन सहयोग पुगेको प्रमुख गिरीको भनाई थियो ।
कार्यक्रममा कार्यालयको सहयोगमा पालिकाहरुमा संचालित कार्यक्रमको बारेमा कृषि शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए । समिक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरमबहादुर जिसीले किसानलाई प्रोत्साहन नगरेम्म आत्मनिर्भर हुन नसकिने भन्दै सबै स्थानीय तहले किसानमैत्री नीति लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भूमि समस्या समाधान आयोग प्यूठानका अध्यक्ष सुवास केसी, पत्रकार महासंघका जुमान सिंह केसी, धान जोनका श्याम थापा लगायतले सुझाव सहितको मन्तव्य राख्नुभएको थियो ।
