प्यूठान । मल्लरानी गाउँपालिका–५ सरङ्गकोटका मुकुन्द बहादुर मल्लले व्यवसायिक रुपमा च्याउ खेति गर्दै आउनुभएको छ । मासिक झण्डै ८ सय केजि बढि च्याउ उत्पादन गर्ने उहाँले कर्मचारी मार्फत विक्रिका लागि बजार पठाउनुहुन्छ । बजारमा विक्रि हुँदा ग्राहकले दिने मुल्य पाउने उहाँले मल्लरानी गाउँपालिका मार्फत संचालन गरिएको संकलन केन्द्रमा लैजाँदा प्रति केजि ५० रुपैंया अनुदान पाउनुहुन्छ ।
मल्लरानी गाउँपालिकाले किसानहरुलाई उत्पादनमा आधारित रहेर अनुदान उपलब्ध गराउने गरेको छ । पछिल्लो त्रैमासिकमा पालिकाको संकलन केन्द्र मार्फत ७ सय २ केजि ५ सय ग्राम च्याउ विक्रि गर्नुभएका मल्लले ३५ हजार १२५ रुपैंया अनुदान प्राप्त गर्नुभयो ।
कृषि र पशु उपज सामग्रीहरुको बजारिकरणका लागि सहयोग गर्दै उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने गरेको मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनुभयो । ‘व्यापार व्यवसाय र जागिर सवैलाई नपुग्न सक्छ ।’ ,उहाँले भन्नुभयो, ‘हाम्रो समुदाय र परिस्थिति अनुसार कृषिलाई नै व्यवसायिकरण गरि स्वरोजगारमुलक बनाउन यस्तो नीति अघि सारेका हौं ।’ उत्पादनमा आधारित अनुदान कार्यक्रमले कृषकहरुलाई उत्पादनमा प्रतिष्पर्धा गराउनुका साथै पालिका आत्मनिर्भरको दिसामा अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
गतवर्ष ५ जना कृषकबाट शुरु भएको यस्तो अनुदान कार्यक्रममा पछिल्लो त्रैमासिकमा २३ जना कृषकहरु सहभागी भएका छन् । फलपूmल, सिमिको बीऊ, तरकारी, बेसार, अण्डा क्यारेट, ध्यू, च्याउ उत्पादन गर्ने किसानहरुले यो त्रैमासिकमा अनुदान वापतको रकम प्राप्त गरेका छन् । न्यूनतम उत्पादनको परिणाम निर्धारण गरेर सो लक्ष्य पुरा गर्ने किसानहरुलाई प्रति केजिका आधारमा पालिकाले अनुदान उपलब्ध गराउने गरेको छ । कृषि र पशुजन्य उत्पादनहरुमा उत्पादन परिणामका आधारमा अनुदान दिने गरेको हो ।
पालिकाले तरकारीमा प्रति केजि १० रुपैंया, फुलफुलमा प्रति केजि १५ रुपैंया, मसलाजन्य उत्पादनमा प्रति केजि १५ रुपैंया, अण्डमा प्रति क्यारेट १५ रुपैंया, ध्यूमा प्रति केजि ५० रुपैंया, च्याउमा प्रति केजि ५० रुपैंया अनुदान उपलब्ध गराउँछ । अनुदान दिन कार्यविधि नै बनाएको पालिकाले उत्पादनका बस्तुहरुको नाम छुट भएमा जतिवेला पनि समावेश गर्न सकिने जनाएको छ ।
चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा मल्लरानी गाउँपालिकाले करिव साढे ३ लाख रुपैंया अनुदान वितरण गरेको छ । शुरुको त्रैमासिकमा ५२ हजार ९ सय, दोश्रो त्रैमासिकमा ८९ हजार र तेश्रो त्रैमासिकमा १ लाख ९७ हजार ६८७ रुपैंया अनुदान किसानलाई वितरण गरेको कृषि शाखा प्रमुख मोति आचार्यले बताउनुभयो ।
पहिले जस्तो वितरणमुखी भन्दा उत्पादनमा आधारित अनुदानले कृषकहरुलाई उत्पादनमा हौसला मिलेको मल्लरानी गाउँपालिका–२ खरिन्डाँडाका सत्यमोहन रानाले बताउनुभयो । ‘धेरै उत्पादन गर्नुपर्छ भन्ने प्रेरणा किसानहरुमा जागेको छ ।’ ,उहाँले भन्नुभयो, ‘किसानहरुमा कसले बढि उत्पादन गर्ने भन्ने प्रतिष्पर्धा नै चल्न थालेको छ ।’
विगतमा वितरण हुने कृषि जन्य अनुदानले कस्को लागि, किन जस्ता प्रश्नहरु उठ्ने गरे पनि उत्पादनमा आधारित अनुदानले कुनै प्रश्न नउठ्ने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाइ प्यूठानका कार्यालय प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । ‘जति उत्पादन हुन्छ त्यसैको आधारमा अनुदान पाउनुले प्रश्नको सबै उत्तरसँगै दिने गरेको छ ।’ ,उहाँले भन्नुभयो, ‘यस्तो अनुकरिणय कार्य सवै तहका सरकारी कार्यक्रममा समावेश हुनु आवश्यक छ ।’
सिमित श्रोत र साधनका वीचबाट शुरु गरिएको उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिइने भएकाले उत्पादनमा जोडिन किसानहरुलाई मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काले आग्रह गर्नुभयो । कम्तिमा तरकारी र पशुजन्य उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउन सकिने भएकाले त्यस तर्फ अग्रसर हुन किसानहरुलाई आग्रह गर्दै उहाँले पालिकाले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उत्पादनमा आधारित अनुदान उपलब्ध गराउनका लागि मल्लरानी साना किसान कृषि सहकारी संस्था लि. चुजाँठाँटीले सहजिकरण गर्ने गरेको छ । चुजाँठाँटीमा र खलंगामा किसानहरुले आफ्नो उत्पादन लिएर संकलन केन्द्रमा आउने गर्छन् । सोको लगत विवरण राख्ने र उत्पादनलाई क्रेता समक्षा पु¥याउन सहकारीले सहजिकरण गर्दछ । कृषकको उत्पादनहरुको विवरण गाउँपालिकामा पेश गरेपछि पालिकाले भुक्तानी गर्ने गर्दछ । आगामी दिनमा सिधा कृषकको बैंक खातामा अनुदान वापतको रकम उपलब्ध गराउने व्यवस्था गर्ने गाउँपालिकाकाले जनाएको छ ।
