> आर्थिक/बिकास > महत्वकांक्षी नौमुरे बहुउद्देश्यीय आयोजना, सरकारको प्राथमिकतामा परेन


महत्वकांक्षी नौमुरे बहुउद्देश्यीय आयोजना, सरकारको प्राथमिकतामा परेन

प्यूठान । सात वर्ष भित्र प्यूठान र अर्घाखाँची  जिल्लाको सिमानामा २ सय ८१ मेगावाट जलविद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य लिइएको नौमुरे बहुउद्देश्यीय आयोजना श्रोत सुनिश्चितता नहुँदा सुस्त गतिमा छ ।

 

नेपाल सरकारले आफै पनि श्रोत सुनिश्चितता नगर्ने र लगानीको मोडालिटी स्पष्ट नबनाउँदा आयोजनाले गति लिन सकेको छैन । सिमित श्रोतका आधारमा शिलतंगा नगरपालिका–८ मा अर्घाखाँचीमा स्थापना गरिएको नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालयले सिमित श्रोतमा आयोजनाको पूर्व तयारीका केहि कामहरु गरिरहेको छ ।

 

सिमित श्रोतका कारण आयोजना कार्यान्वयनको पूर्व तयारीका केहि औपचारिक काममा मात्र कार्यालय सिमित भएको छ । समयमै श्रोत सहमति नहुने, दरवन्दी अनुसारको कर्मचारी नहुँदा अपेक्षाकृत उपलब्ध हाँसिल हुन सकेको छैन । दुई वर्ष अघिको प्रतिवेदन अनुसार आयोजना सम्पन्न गर्नका लागि १ खर्व २६ अर्व खर्च अनुमान गरिएको योजना सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।

 

नौमुरे प्यूठानको झिमरुक र माडि नदीको संगम स्थल ऐरावतीबाट ३ किलोमिटर तल प्यूठान र अर्खाखाँचीको सिमा क्षेत्रमा पर्दछ ।

 

‘प्यूठान तर्फ दर्भान–झिलिवाङ र झिलिवाङ–ड्याम साईटसम्म पहुँच मार्गमा कटिङ, स्टक्चर लगायतका सडक निर्माणको काम भैरहेको छ ।’ ,आयोजना कार्यालयका प्रमुख बीरबहादुर बोहोराले भन्नुभयो, ‘अर्घाखाँची तर्फ लामाताल–ड्याम साईट पहुँच मार्गको काम हुनसकेको छैन ।’ चालु आर्थिक वर्षमा कार्यालयको पुँजीगत तर्फ १५ करोड ६९ लाख रुपैंया बार्षिक स्विकृत बजेट हो ।

 

समयमै श्रोतको सहमति नहुँदा सितखोला पक्की पुल निर्माणको काम अघि बढ्न नसकेको कार्यालयले जनाएको छ । समयमा श्रोत सहमति नहुँदा ठेक्का प्रक्रियामा अघि बढेको योजना समेत रद्द गर्नुपर्ने अवस्था आएको प्रमुख बोहोराको भनाई छ ।

 

लामाताल क्षेत्रमा जग्गा प्राप्तीका लागि पहल भैरहेको छ । कार्यालय बनाउनका लागि लामाताल तर्फ हालसम्म ६४ रोपनी जग्गा प्राप्त भैसकेको छ । थप ४ सय ८२ रोपनी जग्गा प्राप्तका लागि प्रक्रिया अघि बढि सकेको उहाँले बताउनुभयो ।

 

राप्ती नदीमा १६९ मिटर अग्लो बाँध बनाई ६९ करोड घनमिटर क्षमताको जलाशयबाट २८१ मेगावाट जलविद्युत उत्पादन गर्नुका साथै कपिलवस्तु, दाङ र बाँके जिल्लामा गरी ८० हजार हेक्टर भन्दा बढी सिंचाइ योग्य जमिनमा वर्षैभरी सिंचाइ सुविधाको लागि दिगो तथा भरपर्दो पानीको स्रोत सुनिश्चित गर्ने आयोजनाले लक्ष्य लिएको छ ।


देशमा उपलब्ध जलस्रोतको सदुपयोग गरी हरित ऊर्जा र प्रभावकारी सिँचाइ प्रणालीबाट समृद्ध नेपालको आधारशिला तयार गर्ने महत्वकांक्षी उद्देश्य प्राप्त गर्नका लागि त्यस अनुसारको सरकारी तदारुकता भने देखिँदैन ।

 

नौमुरे बहुउद्देश्यीय आयोजना अन्तर्गत नौमुरे जलविद्युत आयोजनाबाट २१८ दश्मलव ३ मेगावाट, लामाताल जलविद्युत आयोजनाबाट ८ मेगावाट र सुराईनाका जलविद्युत आयोजनाबाट ५४ दश्मलव ७ मेगावाट गरी तीन वटा जलविद्युत आयोजना निर्माण हुनेछन् ।

 

यस आयोजनाबाट दाङ, कपिलबस्तु र बाँके जिल्लाको ८३ हजार ८०२ हेक्टर खेतीयोग्य जमिन बर्षैभरि सिंचाईको लागि पानी उपलब्ध हुनेछ । विद्युत उत्पादन, सिंचाई सुविधासँगै यस आयोजनाको कार्यान्वयनले बाढी नियन्त्रणका साथै पर्या–पर्यटन तथा मत्स्यपालन क्षेत्रको विकासमा ठूलो सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

 

नौमुरे मुख्य बाँधस्थल माडी र झिमरुक खोलाको संगमबाट करिब ३ किलोमिटर तल प्यूठान र अर्घाखाँची जिल्लाको सिमा क्षेत्रमा पर्दछ । लमाताल रिरेगुलेटिङ बाँधस्थल नौमुरे मुख्य बाँधको करिब ६ किलोमिटर तल अवस्थित छ ।

 

नौमुरे बहुउद्देश्यीय आयोजनाले कपिलवस्तुमा २९ हजार ७३६ हेक्टर, देखुरी उपत्यका १० हजार ८०० हेक्टर र बाँकेमा ४२ हजार ७६६ हेक्टर जमिनमा वर्षैभरि सिंचाई सुविधा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *