प्यूठान । ऐरावती गाऊँपालिका पहुँच मार्ग, चेरनेटा–पुरन्ठाँटी (बरौंला)–जोगिटारी सडक खण्ड अन्तरगत कैरन–पकला सडक कालोपत्रे भएको छ । सडक पुर्वाधार कार्यालय प्यूठान मार्फत आँसु निर्माण सेवा विजुवार प्यूठानले सडक निर्माण कार्य सम्पन्न गरेको हो ।
भ्याट सहित ८ करोड २६ लाख ६५ हजार ६९४ रुपैंया ३२ पैसा लागतमा ६ किलोमिटर कालोपत्रे सडक निर्माण भएको हो । सडकको चौडाई ५ मिटर ५० सेन्टीमिटर रहेको छ । मुल कामहरु सकिएको र केहि फिनिसिङ्गका अन्तिम कामहरु बाँकी रहेको निर्माण कम्पनीका सञ्चालक बालाजु श्रेष्ठले जानकारी दिनुभयो ।
९८ प्रतिशत काम सम्पन्न भएको र बाँकी काम १५ दिन भित्र सम्पन्न हुने साईट इन्चार्ज रमेश खत्रीले बताउनुभयो । हालसम्म ४ करोड ५० लाख भुक्तानी भैसकेको छ । मेसिनरी वाल, ह्युम पाईप, ग्याविन वाल, माटो काट्ने, नालि बनाउने, ग्रावेल, वेश सहितको कालोपत्रेको काम सम्पन्न भएको प्राविधिक ऋषि खत्रीले जानकारी दिनुभयो ।
चेरनेटा–कैरन खण्ड यस अघि कालोपत्रे भैसकेको छ । अव चेरनेटाबाट ऐरावती पीकनिक पर्क (पकला)सम्म कालोपत्रे सडकमा सरर यात्रा गर्न सकिन्छ ।
योजना निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता अवधि भन्दा ७ महिना अगावै निर्माण सम्पन्न भएको हो । २०८१ असार ११ गते सम्झौता भएको योजनाको सम्पन्न गर्नुपर्ने म्याद २०८२ पुस २० गतेसम्म रहेको छ ।
अव ३ किलोमिटर सडक कालोपत्रे भएमा गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक पूर्वाधार कार्यालय प्यूठानका प्रमुख चन्द्र शाहले बताउनुभयो । आगामी आर्थिक वर्षमा थप काम गर्न मन्त्रालयमा प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।
अहिले सडक सञ्चालनमा आएको छ । सडक निर्माण अवधिमा सहयोग गर्नेहरु प्रति निर्माण कम्पनीका सञ्चालक श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको छ । करिव दुई महिना सडक अवरुद्ध गरि निर्माण कार्यमा सहयोग गर्नेहरु प्रति उहाँले धन्यवाद दिनुभएको हो । । सडक निर्माण अवधिमा सडक अवरोध हुँदा बरौलाबाट चेरनेटा चल्ने सवारीहरु गोठिवाङ–सरङवेशी–कैरन हुँदै चल्ने गरेका थिए ।
