> आर्थिक/बिकास > स्वर्गद्वारी पर्यटन पोखरी : करोड खर्च गरेर योजना अलपत्र


स्वर्गद्वारी पर्यटन पोखरी : करोड खर्च गरेर योजना अलपत्र

प्यूठान । करिव एक करोड रुपैंया खर्च भएको योजना अलपत्र परेको छ । स्वर्गद्वारी नगरपालिका–४ भिंगृकोट धर्मशालामा निर्माणाधीन पर्यटन पोखरी अलपत्र परेको हो ।

४ वर्ष अघि धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गद्धारीलाई लक्षित गरि निर्माण थालिएको भिंगृकोट धर्मशाला पर्यटन पोखरी बजेट अभावका कारण अलपत्र अवस्थामा छ । योजना अलपत्र हुँदा निर्माणस्थल कुरुप बनेको छ । २०७७ सालमा डिभिजन वन कार्यालय प्यूठान मार्फत ५० लाख र अर्काे वर्ष पर्यटन डिभिजन कार्यलय कोहलपुर बाँके मार्फत ५० लाख खर्च भैसकेको छ ।

दुवै कार्यालयसँगको सम्झौता अनुसार भण्डारी निर्माण सेवा प्यूठानले वाटर फाउण्टेन, बाउण्ड्री वाल र जलपरीको मुर्ति राख्ने काम सम्पन्न गरेको हो । फिल्ड सम्याउने, घेरावार गर्ने, गेट निर्माण गर्ने, फाउण्टेनमा पानीको व्यवस्थापन गर्ने लगायतका काम अधुरै रहेका छन् ।

 

स्वर्गद्धारी पुग्ने पर्यटकहरुलाई केहिछिन विश्राम गर्ने, पानी पिउने, फोटो खिच्ने गरी आकर्षक स्थलको रुपमा स्थापना गर्न खोजिए पनि बजेट अभावले अलपत्र परेको स्वर्गद्धारी नगरपालिकाका उपमेयर मिनराज रानाले बताउनुभयो । ‘पर्यटकीय क्षेत्रमा योजना अलपत्र हुँदा लाजमर्दाे भएको छ ।’ ,उहाँले भन्नुभयो, ‘पालिकासँग सीमित बजेट हुन्छ, प्रदेशमा अनुरोध गरेका छौं ।’

पछिल्ला वर्षहरुमा उक्त योजनामा बजेट प्राप्त नभएकाले काम गर्न नसकिएको पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका प्रमुख टंकनाथ खनालले बताउनुभयो । आगामी वर्ष सम्वन्धीत पालिकाको सिफारिसमा प्रदेश सरकार मार्फत बजेट प्राप्त भएमा काम सम्पन्न गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

 

निर्माणाधीन अवस्थामा रहेको योजना अलपत्र हुँदा उक्त स्थान कुरुप देखिएको छ । निर्माण सामाग्री यत्रतत्र छरिएको छ । निर्माण भएका संरचना समेत जिर्ण बन्दै गएकोले तत्काल संरक्षण गर्नुपर्ने स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *