श्रीराम भण्डारी
प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ का ३७ बर्षिय वडा सदस्य पुर्णबहादुर घर्ती मगर दिनभर जनताको कामका लागि खटिनुहुन्छ । बिहान साँझको समयमा परिवारसङ्गै काम गरी लटरम्म बेमौसमी तरकारी फलाउनुभएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष कुबेतमा बस्नुभएका घर्ती पैसा कमाउने र परिवारलाई सुख साथ बसाल्ने सोचमा विदेश गएको सात महिनामै बुवाको निधन भयो । बुवाको निधन हुँदा आफू घर आउन नपाएको उहाँमा दुखेसो छ । तीन वर्षपछि विदेशबाट फर्किएपछि घर्तीले लामाचौरमा सामान्य तरकारी खेती गर्न थाल्नुभयो । उहाँको काममा आर्थिक वर्ष २०७७/७८ मा धानजोन कार्यक्रमले सहयोग गर्यो । ५०% अनुदानमा १२ लाख ५० हजार लुम्बिनी प्रदेश सरकारबाट प्राप्त गरी आठवटा टनेलबाट तरकारी खेति बिस्तार गरेको उहाँ बताउनुहुन्छ ।
समाजसेवा सहित आफ्नाे करिब ४ राेपनी र लिजमा गरि १८ राेपनी जग्गामा बेमौसमी तरकारी खेति गर्दै आउनुभएको छ । घर्तिकाे कृषि फर्ममा काक्रा , भाण्टा, खुर्सानी, प्याज, मुला, भिण्डि, टमाटर, बन्दा फलिरहेका छन । उत्पादित तरकारी बजारकाे कुनै समस्या नभएको घर्ती बताउनुहुन्छ । उत्पादन गरेकाे तरकारी नगरपालिकाले स्थापना गरेकाे सङ्कलन केन्द्रबाट खपत हुने यदि बिक्रि नभए पनि नगरपालिकाले न्युनतम मूल्य निर्धारण गरि त्याे मुल्यमा आफै बजार ब्यबस्थापन गर्नाले कृषकमा समस्या नभएको उहाँले बताउनुभयो ।
घर्ती जस्तै कृषकहरुका लागि विभिन्न यात्रिकरणका साधन र प्रबिधिमा सहयाेग गर्ने गरेकाे प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना प्यूठानका प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । कार्यालयले थाेपा सिंचाइ, टनेल, ड्याङ बनाउने मेसिन सहयाेग गरेकाे छ । किसानकाे उत्पादनमा वृद्धि गरी स्वदेशमै केही गरौ भन्नेहरुका लागि कार्यालयले विभिन्न प्रबिधि हस्तान्तरणका साथै प्राबिधिक सहयाेग उपलब्ध गराउने गरेकाे कार्यालय प्रमुख गिरी बताउनुभयो ।
