प्यूठान । कांग्रेसले इमानदारिताका साथ यो सरकार संचालन गर्ने नेपाली कांग्रेसका महामन्त्रि गगन थापाले बताउनुभएकोछ । सरकार फेरवदलको चर्चा चलिरहेका वेला सोमवार प्यूठानको शिवालयमा भएको आम सभालाई सम्बोधन गर्दै उहाँले यस समयावधिमा सरकारबाट अधिकतम उपयोग गर्न चाहेको बताउनुभयो ।
`हामी ईमान्दार भएर आफ्नो भुमिका निर्वाह गर्छाै, गर्न चाहन्छौं ।’ ,महामन्त्री थापाले भन्नुभयो, `अहिले भएको समझदारीमा हाम्रो इमान्दारिता रहन्छ हामी कुनै चकचक गर्दैनौं, हामी कुनै उपद्रो गर्दैनौं, हामी यताबाट उफ्रेर उता पनि जाँदैनौं ।’
गणतन्त्र, समावेशी, समानुपाति जस्ता एजेण्डाहरुलाई थप बलियो बनाउँदै संविधान भित्रका केहि कुरा संशोधन आवश्यक रहेको उहाँले बताउनुभयो । तीन तहका सरकारहरुलाई बलियो बनाउने, संसद तथा मन्त्रीहरुको संख्यालाई कम गर्ने, जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने जस्ता विषयहरुमा संशोधन आवश्यक रहेको उहाँको भनाई थियो । १० वर्ष संविधान कार्यान्वयनका क्रममा देखा परेका जटिलाहरुलाई अनुभवका आधारमा संशोधन गरिने महामन्त्री थापाले बताउनुभयो । सकेसम्म एउटै पार्टीको बहुमत आउने उपाय खोजेर संविधान संशोधन आवश्यक रहेको उहाँको भनाई थियो ।
नेपालमा अन्तराष्ट्रिय सम्वन्धका कुरा आउँदा नेपालका राजनीतिक दलहरु एक हुन्छन् भन्ने अमेरिका, भारत, चीनलाई सन्देश दिनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालका राजनीतिक दलहरु एक आपसमा लड्छन्, गाली गलौंज गर्छन् तर अन्तराष्ट्रिय सम्वन्धको कुरा आउँदा सवै एक ठाँऊमा आउँछन्, एउटै धारणा बनाउँछन् भन्ने सन्देश दिनुपर्छ ।’ ,उहाँले भन्नुभयो, कम्युनिष्ट पार्टीहरु सरकारमा हुँदा एउटा कुरा गर्ने र नहुँदा अर्काे कुरा गर्ने भएकाले यो पेचिलो बनेको छ ।’
महामन्त्री थापाले पार्टी भित्रको गुट उपगुट अन्त्य गर्ने अचुक उपाए क्रियाशिल सदस्यले नै पार्टी नेतृत्व छान्न पाउनुपर्ने बताउनुभयो । पार्टी नेतृत्व र जनप्रतिनिधि बन्न क्रियाशिल सदस्यले छान्न पाउनपर्ने व्यवस्था आवश्यक रहेको उल्लेख गर्नुभयो ।
`पार्टी भित्रको गुटउपगुट अन्य गर्न एउटा अचुक अस्त्र के छ भने अव १५ औं अधिवेशनमा तहतहमा महाधिवेशन प्रतिनिधि छानेर जुन अधिवेशन गर्छ यो विधिलाई बदलेर नेपाली कांग्रेसका देशभरिका क्रियाशिल सदस्यले सिधा मत हालेर कांग्रेसको सभापति निर्वाचित गर्ने पद्धतिको विकास गर्यो भने गुटसुट केहि बन्दैन’ ,उहाँले भन्नुभयो । जनप्रतिनिधि हुन नेतालाई काठमाण्डौं भेट्न जानुभन्दा क्रियाशिल सदस्यलाई भेट्न जाँदा पार्टी बलियो बन्ने उहाँको भनाई थियो ।
विधानको व्यवस्था बमोजिम तोकिएकै समयमा पार्टी अधिवेशन हुने भन्दै उहाँले सदस्यता नविकरणको काम चैत मसान्तभित्र सम्पन्न गरी अधिवेशन तयारीमा जुट्ने उल्लेख गर्नुभयो । `अवको निर्वाचनमा कांग्रेस आश्वासनको पोका लिएर जनता माझ जाँदैन’ ,महामन्त्री थापाले भन्नुभयो, `कांग्रेस नेतृत्वमा भएका उपलब्धीहरु र आगामी कार्यकालमा गर्ने कामको रिपोर्ट कार्ड लिएर जनतामा जान्छौं ।’
