> समाज > सामाजिक सञ्जाल दुरुपयोग रोक्नुपर्छ : नेता थापा


सामाजिक सञ्जाल दुरुपयोग रोक्नुपर्छ : नेता थापा

 

प्यूठान । प्रतिनिधिसभा सदस्य सूर्य थापाले सामाजिक सञ्जालको दुरुपयोग कानुन बनाएरै राेक्नुपर्ने बताउनुभएको छ ।

 

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र प्युठान शाखा बीच आइतबार जुम्रीमा भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउनुपर्ने र यसको दुरुपयोग रोक्न कानुन बनाउने प्रक्रिया सुरु भइसकेको बताउनुभयो ।

उहाँले प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताप्रति आफ्नो पार्टी र सरकारको प्रतिबद्धता पुनः दोहोर्याउनुभयो । उहाँले सामाजिक सञ्जालले सूचनाको आदानप्रदान र अभिव्यक्ति स्वतन्त्रतालाई अघि बढाएको भए पनि यसलाई व्यवस्थित र जिम्मेवार बनाउन कानुन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

तथ्यमा आधारित रहेर पत्रकारिता गर्नुपर्ने उल्लेख गर्दै थापाले पित पत्रकारितालाई निरुत्साहित गर्नुपर्ने आवश्यकता ओैल्याउनुभयाे ।

नेता थापाले सार्वजनिक शिक्षा, पत्रकारिता र सामाजिक सञ्जालको सन्तुलनमा जोड दिनुभएको । उहाँले सार्वजनिक शिक्षा अस्तव्यस्त रहेको र यसलाई सुधार्न शिक्षकहरूले मर्यादामा रही कर्तव्यपालन गर्नुपर्ने धारणा राख्नुभयो ।

जिल्लाको विकास र समृद्धि शिक्षाको सुधारमा निर्भर हुने बताउँदै केही राम्रा शिक्षकहरूको प्रशंसा समेत गर्नुभयो । सार्वजनिक शिक्षाको सुधारले मात्रै जिल्ला र समाजको परिवर्तन सम्भव हुने उहाँको भनाइ थियो ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईँले मिडियालाई सामाजिक न्याय र विकासको पक्षमा उभ्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

 

प्युठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले स्थानीय पत्रकारिताको सुदृढीकरणमा पत्रकार महासंघको भूमिका झनै महत्वपूर्ण रहेको बताउनुभयो ।

प्युठान शाखा अध्यक्ष श्रीराम भण्डारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन सचिव वासुदेव गिरीले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *