महेश थापा
प्यूठान । नौबहिनी गाउँपालिका प्यूठानले गाउँपालिका नगर प्रहरी भर्ना गरेकोछ । नौबहिनी गाउँपालिका नगर प्रहरी व्यवस्थापन कार्यविधि २०८० बमोजिम तीन जना नगर प्रहरी भर्ना गरेको हो ।
बरिष्ठ गाउँपालिका नगर प्रहरी १ जना र गाउँपालिका नगर प्रहरी २ जनाले २४ कार्यदिनको तालिम पश्चात आजदेखि काममा लागेको गाउँपालिकाले जनाएको छ । आईतबार एक कार्यक्रमका वीच भर्ना भएका नगर प्रहरीलाई दिक्षान्त समारोह गरी काममा लगाईएको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय बाहानेले २४ कार्यदिनको उक्त तालिम प्रदान गरेको थियो ।
सार्वजनिक सम्पत्तिको सुरक्षा, घर बहाल कर संकलनमा सहयोग, कर छली आएका सामाग्रीको आवश्यक कार्वाही प्रक्रिया, सार्वजनिक आवागमनमा वाधा पु¥याई थुपारेका निर्माण सामाग्री हटाउन लगाउने, गाउँपालिकाको ऐन, नियम र आदेशको बर्खिलाप गर्ने मानिसलाई नगर्न अनुरोध गर्ने र आवश्यकताका आधारमा कार्वाही सिफारिस गर्ने, दैवि प्रकोप तथा आकस्मिक दुर्घटना भएको स्थानमा उद्दारमा खटिने लगायतका काममा नगरप्रहरी परिचालन गरिने गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले बताउनुभयो ।
यसअघि नै प्यूठानका सरुमारानी, गौमुखी, माण्डवी गाउँपालिकाले गाउँपालिका नगरप्रहरी भर्ना गरेका छन् ।
स्थानीय सरकार संचालन ऐन, २०७४ ले स्थानीय तहलाई नगरप्रहरी भर्ना गर्ने अधिकार दिएको छ ।