प्युठान । प्युठान नगरपालिका वडा नम्वर ९ मरन्ठानाकी ८७ वर्षीया डोरा गिरीले एउटा आँखाले देख्नुहुन्थेन । उहाँको आँखामा मोतिविन्दु भएको थियो । जसले गर्दा उहाँलाई अप्ठ्यारो भएको थियो ।
जिल्लामै शल्यक्रिया सहितको शिविर हुने थाहा पाएपछि उहाँका छोरा रमेश गिरीले आमालाई उपचारका लागि प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल, आखाँ उपचार केन्द्र विजुवारमा पुर्याउनुभयो । उहाँको जिल्लामै निःशुल्क शल्यक्रिया समेत भयो । मोतिविन्दुको शल्यक्रिया गरेपछि गिरीले आँखाले देख्न सक्ने हुनुभएको छ । “पहिले आँखा धमिलो हुन्थ्यो, देख्न सक्थेन,” शल्यक्रियापछि शुक्रबार विहान घर फर्किने क्रममा गिरीले भन्नुभयो, “अप्रेशनपछि अक्षरहरु धेरेजसो चिने, अव सजिलोसँग देख्न सकुला ।”
गिरी जस्तै नौबहिनी गाउँपालिका-७ फोप्लीका ६९ वर्षीय गर्वे विकको आँखाको मोतिविन्दुको शल्यक्रिया भएको छ । “गएको असोजमा एउटा आँखाको शल्यक्रिया भएको थियो,” छोरा केशव विकले भन्नुभयो,“अहिले अर्को आँखाको शल्यक्रिया भएको छ ।” गाउँपालिकाले जेष्ठ नागरिकका लागि निःशुल्क उपचारको व्यवस्था गरेकाले उपचार खर्च समेत नलागेको उहाँको भनाई छ ।
यो पटक ५१ जनाको मोतिविन्दुको शल्यक्रिया भएको आँखा उपचार केन्द्रले जनाएको छ । रण अम्विका आँखा अस्पताल भैरहवाका डाक्टर विनिता भट्टराई नेतृत्वको टोलीले शिविरमा आँखाको शल्यक्रिया गरेको हो । मोतिविन्दुको जटिल समस्या भएका विरामी समेत भेटिएको बताउनुभयो । उहाँले आखाँको नियमित जाँच र उपचार गर्न सुझाव दिनुभएको छ ।
उपचार केन्द्रमा स्थानीय सरकारले जेष्ठ नागरिकका लागि निःशुल्क उपचारदेखी निःशुल्क सल्यक्रियासम्मको व्यवस्था गरेका छन् । जिल्ला भित्र रहेका सरुमारानी गाउँपालिका बाहेक आठ वटा स्थानीय तहसँग यो वर्ष सम्झौता गरि सेवा प्रवाह गरेको नेपाल नेत्रज्योती संघ प्युठानका अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले बताउनुभयो ।
जिल्लाका तीन स्थानबाट उपचार सेवा प्रवाह गरेको केन्द्रका प्रमुख लक्ष्मी मल्लले जानकारी दिनुभयो । पुस महिनामा पनि शिविर राख्ने योजना रहेको मल्लले बताउनुभयो ।
