वासुदेव गिरी
प्युठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासन कायम गर्दै देशमा हुने तमाम विकृति विसंगति अन्त्यका लागि केन्द्रीत रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासघं प्यूठानले जुम्रिमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको उल्लेख गर्नुभएको हो ।
सुन काण्ड, शरणार्थि काण्ड, ललिता निवास जस्ता काण्डमा संलग्न जो कोहि भएपनि उन्मुक्ति नपाउने उहाँले बताउनुभयो। सरकार कानुन बिपरित भएका सबैखाले अपराध अनियमितताको बिषयमा निर्मम भयर अघि बढ्ने मन्त्री शर्माको भनाई छ ।
सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले यस्ता गम्भीर विषय सञ्चारमाध्यमले उजागर गरेकाले सरकारलाई थप अनुसन्धान गर्न सहयोग पुगेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमको प्रशंसा गर्नुभयो ।
“भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नुभएको छ । यो बिषय अनुसन्धानबाट निष्कर्षमा पुर्याउने छौँ ।” उच्च तहमा भएकै कारण जुनसुकै अपराधमा संलग्नलाई उन्मुक्ति दिन नमिल्ने भएकोले यसमा सरकार निर्मम भएर अगाडि बढेको उहाँको भनाई छ ।
मन्त्री शर्माले टेलिकमको जिल्लामा रहेको समस्या सरोकारवाला संग छलफल गरि हल गरिने बताउनुभयो । सूचना र प्रबिधिलाई आय आर्जन संग जोडेर लैजानुपर्ने आवस्यकता रहेकोले यो बिषयमा सरकारले काम थालनी गरेको बताउनुभयो । “सेवा निर्यात गर्न सकिने अवस्थामा पुगेका छौ ।” उहाँले भन्नुभयो,” आइसिटीलाई रोजगारसंग जोडन सबै प्रदेशमा ब्यवसायिक तालिम संचालन गर्ने आइसिटिमेला गर्ने तयारी रहेको छ ।”
उहाँले नगरपालिका भित्रको सागुरा सडक, प्युठान-भालुवाङ सडकलाई स्तरोन्नति गर्न सरकार संग पहल गरिने र लामो समय देखि अन्योलमा रहेको बाग्दुला-भिमगिठे सडकको कतिपय जटिलतालाई निष्कर्षमा पुर्याई छिट्टै काम अगाडि बढाउन उच्छ तहमा छलफल गर्ने बताउनुभयो ।
जग्गाको मुआब्जा दिन नसक्ने नीति भएकोले केही समस्या छ त्यस्को लागि स्थानीय तहाले पहल थाल्नुपर्ने उहाँको भनाई छ । क्वाडी देखि बाग्दुला सम्मको सागुरो सडक फराकिलो बनाउन एक खालको छलफल आवश्यक रहेकोले यस्को लागि स्थानीय तहले पहल थाल्नुपर्ने मन्त्री शर्माले बताउनुभयो ।
