प्यूठान। जिल्लामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउन सकेको छैन । जलबायु परिवर्तन तथा विभिन्न कारणले तराईका विषालु सर्पहरु पहाड तर्फ आउने गरेको भन्दै जिल्लामा सतर्कता सहित केन्द्र सञ्चालन गर्ने गरी तीन वर्ष पहिले सर्वपक्षीय निणर्य भएपनि अहिलेसम्म कायान्वयनमा आउन सकेको छैन ।
केन्द्र सञ्चालनका लागि सवै पालिका तथा सरोकारवालाहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएको भएपनि अहिले पनि उपचार सेवा नहुँदा सर्पदंशको उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । गत महिना जिल्लामा सर्पको टोकाईबाट एक बालकको ज्यान गयो भने दुई जना बालबालिकाको नेपालगञ्ज पुर्याएर उपचार गरिएको थियो ।
केन्द्र सञ्चालनका लागि भन्दै स्वर्गद्वारी नगरपालिका वडा नम्वर ९ स्थित लामाचौरका स्थानीयले पाँच आना जग्गा निःशुल्क स्वर्गद्धारी नगरपालिकालाई हस्तान्तरण गरेका छन् । उक्त जग्गामा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा भवन निर्माण गरेको छ । अहिले उक्त भवन प्रयोगविहिन अवस्थामा छ ।
सर्पदंश उपचार केन्द्र सञ्चालनको प्रक्रियामा रहेको जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले बताउनुभयो । ‘केन्द्रमा बस्नका लागि ३ जना व्यक्ति तालिम लिन गएका छन,’ उहाँले भन्नुभयो,‘स्थानीय तहहरुबाट पनि रकम उपलब्ध गराउने प्रतिवद्धता भएको छ ।’ उपचार केन्द्र सञ्चालनमा नेपाली सेनाले पनि सहयोग गर्ने बचन दिएको प्रमुख जिसीले बताउनुभयो ।
सर्पले टोक्दा स्थानीय अहिले पनि उपचारका लागि भन्दा धाँमीझाँक्रिकोमा जाने प्रचलन छ । जिल्लामै केन्द्र स्थापना हुँदा सर्पदंशको उपचारका लागि जिल्ला बाहिर जाने बाध्यता हट्ने गैर सरकारी संस्था महासंघ प्युठानका सचिव जुमान सिंह केसीले बताउनुभयो । जिल्लामा केन्द्र सञ्चालन भएमा छिमेकी जिल्ला रोल्पा, गुल्मी, अर्घाखाँचीका स्थानीयले समेत सुविधा पाउने उहाँको भनाई छ ।