> राष्ट्रिय > ऐरावती गाउँपालिकाको आग्रह : सत्य तथ्य मात्र लेख्ने गर्नुस्


ऐरावती गाउँपालिकाको आग्रह : सत्य तथ्य मात्र लेख्ने गर्नुस्

प्युठान । समाजिक संजाल (फेसबुक) मा पालिकाको केहि योजनाको बारेमा लेखिएको बिषय सत्य नभएको ऐरावति गाउँपालिकाले जनाएको छ । मंगलबार पालिकाले पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पालिकाले योजनाहरुको खर्च भएको रकम र निर्माण भएका पुर्वाधारको बारेमा स्पष्ट पार्दै सामाजिक संजालमा जथाभावी लेखिएको जनाएको हो ।

 

 

गाउँपालिका अध्यक्ष नबिल बिक्रम शाहले नकारात्मक सोंचले सामाजिक सन्जालमा फैलाईएको गुनासो गर्नुभयो । उहाँले पालिकाले कार्यसम्पादनलाई प्रभावकारी बनाउन, सुशासन, पारदर्शिताको लागि आगामी दिनमा थप कार्य गर्ने बताउनुभयो ।

 

गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले सत्य तथ्य नबुझी सामाजिक संजालमा योजनाको बारेमा लेखिएको बताउनुभयो । उहाँले योजनाहरुको सूचना पाटी समेत राख्ने गरिएको बताउनुभयो । उहाँले नागरिकलाई सूचनाको हकको प्रयोग गरेर पालिकाबाट सूचना माग्न समेत आग्रह गर्नुभयो ।

 

कार्यक्रममा प्रशासन प्रशासन शाखा प्रमुख श्रीधर भट्टराईले सामाजिक संजालमा आएका योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

 

 

उहाँका अनुसार ऐरावती खेल मैदानको २५ करोड ७५ लाख ५ हजार ६२८ रुपियाँको डिपिआर मध्ये हालसम्म ३ करोड ७ लाख ५० हजार ५३८ रुपियाँको काम सप्पन्न भएको छ । आर्थिक वर्ष २०७९/०८० मा ४७ लाख ८२ हजार ६८८ रुपियाँको काम भएको छ ।

 

 

त्यसैगरी, ऐरावती पिकनिक पार्कको ७ करोड २५ लाखको डिपिआर बनेको छ । पार्क निर्माण गर्न हालसम्म २ करोड ६ लाख ४८ हजार ७३७ रुपियाँ खर्च भएको छ । आर्थिक वर्ष २०७९/०८० मा ९५ लाख १७ हजार ७३७ रुपियाँ खर्च भएको पालिकाले जनाएको छ ।

 

ऐरावति गाउँपालिका-६ मा १९ लाख ८ हजार ८०७ रुपियाँमा अर्लावाङ बहुउद्देश्यीय सभाहल निर्माण भएको पालिकाले जनाएको छ ।

त्यसैगरी बरौला बृहत खानेपानी आयोजना आर्थिक वर्ष २०७७/०७८ मा २ करोड ९८ लाख ५२ हजार ४९७ रुपियाँमा ठेक्का भएकोमा हालसम्म ७६ लाख ५४ हजार २४६ रुपियाँ रनिङ बिल भुक्तानी गरिएको पालिकाले जनाएको छ ।

 

ऐरावती गाउँपालिका-५ द्वारेघाटमा ४४ लाख ६१ हजार ३२३ रुपियाँमा औद्योगिक ग्राम निर्माण गरिएको भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमको संचालन सागर रिजालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *