> राष्ट्रिय > शिशुलाइ पूर्ण स्तनपान गराउनेको संख्या घट्दो


शिशुलाइ पूर्ण स्तनपान गराउनेको संख्या घट्दो

प्युठान । जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ८०.६ प्रतिशतले पूर्ण स्तनपान गराएकोमा आर्थिक वर्ष २०७९/०८० मा घटेर ७७ प्रतिशतमा झरेको छ । स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी पुष्कल प्रसाद श्रेष्ठले गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा ७७ प्रतिशतले पूर्ण स्तनपान गराएको तथ्यांक रहेको जानकारी दिनुभयो ।

 

नेपालकाे तथ्यांक हेर्दा शिसुलाइ पूर्ण स्तनपान गराउने दर घट्दै गएकाे छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा जन्मेदेखी ६ महिनासम्म पूर्ण स्तनपान गराउनेको संख्या घट्दै गएको हाे ।

सर्वेक्षण अनुसार ५६ प्रतिशतले मात्र पूर्ण स्तनपान गराउने गरेका छन् । यसअघिको गरिएको सर्वेक्षणमा सन् १९९६ मा ७५ प्रतिशत, सन २००६ मा ५३ प्रतिशत, सन् २०११ मा ७० प्रतिशत रहेको थियो ।

त्यसैगरी जन्मेकाे एक घण्टा भित्रै विघाैति दुध खुवाउने ५५ प्रतिशत रहेकाे छ । ६९ प्रतिशतले ६ महिनादेखी २ वर्षसम्मका शिसुलाइ स्वास्थ्यलाइ हानि गर्ने खाना खुवाउने गरेका छन् । त्यसैगरी ४३ प्रतिशतले ६ महिनादेखी २ वर्षसम्मका शिसुलाइ गुलियाे पेय पदार्थ खुवाउने गरेकाे सर्वेक्षणले देखाएको छ ।

यसैबीच विश्व स्तनपान सप्ताह आजदेखि शुरु भएको छ । स्तनपानको महत्त्वबारे जानकारी दिन हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । यस वर्ष ‘स्तनपान गरौँ , काम गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

कार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागि बिदाको व्यवस्था गर्ने आवश्यकताबारे यस वर्षको नारा तय गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले सरकार र रोजगारदातालाई आमाहरूलाई स्तनपान गराउन आवश्यक समय, ठाउँ र समर्थन प्रदान गर्ने परिवार अनुकूल नीति लागू गर्न आह्वान गर्दै आएको छ ।

स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ। दूधमा रोग निरोधक तत्त्व हुन्छ जसले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ । डाक्टरकाअनुसार शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ । शिशुलाई ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ ।

स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने डाक्टरले बताएका छन् । शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि स्तनपान महत्त्वपूर्ण हुनेगर्छ। कुपोषण घटाउनका लागि स्तनपानले महत्त्वपूर्ण भूमिका खेल्ने डाक्टरको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *