प्यूठान, २२ कात्तिक । प्यूठान सदरमुकाम खलंगाको पर्यटकीय स्थल मल्लरानीको पर्यटन प्रर्वद्धनका लागि मल्लरानी पर्यटन सडक स्तरोन्नती हुन थालेको छ । ग्राभेल सहित सडक स्तरोन्नतीको काम तीव्र रुपमा अघि बढेको छ ।
संघीय सरकार र मल्लरानी गाउँपालिकाको समपुरक बजेट मार्फत सडक स्तरोन्नतीको काम सफल÷मल्लरानी जे.भि निर्माण कम्पनीले गरिरहेको छ । ३ दशमलम ५ किलोमिटर लामो सडक निर्माणका लागि एक करोड २८ लाख भ्याट बाहेकको रकममा निर्माण जिम्मा लिएको ठेकेदार कम्पनी प्रतिनिधि केशव खड्काले जानकारी दिनुभयो ।
मल्लरानी पर्यटन क्षेत्रको विकासका लागि डिपिआर गरि गाउँपालिकाका प्राथमिकताका योजनाहरुमा समेटेर काम भैरहेको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमानसिंह केसीले बताउनुभयो । ८ करोड लागतको इस्टिमेट डिपिआरमा छ ।
बन्दै गरेको सडकमा जालि लगाउने, मेसिनरी वाल निर्माण, पक्की नाली निर्माणको काम सम्पन्न भएको छ । स्थानीय श्रोत साधनको उपयोग गरी गिट्टी र माटो मिसाएर ग्राभेल गर्ने र त्यसमा रोलर लगाउने काम भैरहेको इन्जिनियर विनोद आचार्यले बताउनुभयो । दुई साता भित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको ठेकेदार कम्पनीले बताएको छ ।
यसअघि करिव ८८ लाखको लागतमा मल्लरानी पहुँच मार्गको ट्रयाक खोलिएको थियो । यस वर्ष पनि नियमित बजेट विनियोजन भएकाले मल्लरानी पर्यटन क्षेत्रमा थप पुर्वाधार निर्माण हुनेछ ।
सदरमुकाम खलंगाको शिर मल्लरानीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । मल्लरानी प्राचिन मल्लकालिन ऐतिहासिक महत्वको क्षेत्र हो । यहाँबाट प्यूठान जिल्लाका अधिकांश क्षेत्र, छिमेकी जिल्ला र धौलागिरी हिमश्रृखलाको अवलोकन गर्न सकिन्छ ।