> राजनीति > सत्ता खोस्ने उद्घोषबाट मसालकाे हेडक्वाटर नै आतंकित : नेता थापा


सत्ता खोस्ने उद्घोषबाट मसालकाे हेडक्वाटर नै आतंकित : नेता थापा

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले आफ्नो स्थानीय सरकार गुम्ने डरले नेकपा मसाल आतंकित भएको बताउनुभएको छ । नेकपा एमाले प्यूठानको अधिवेशनको उद्घाटन शत्रमा मसालको सत्ता खोस्ने उद्घोषले मसालको हेडक्वाटरमा आतंक छाएको उहाँले बताउनुभएको हो ।

 

मसाल आतंकित भएर नेकपा एमालेमाथी शंकाको आधारमा बक्तव्य निकालेको उहाँको भनाई छ । “कालोमोसो लाउने एमालेको राजनीति होइन, त्यो घटनाको पनि विरोध गर्छौ, समर्थन छैन, एमाले विचारको आधारमा लडाई लड्छ,” नेता थापाले नेकपा मसालले निकालेको विज्ञप्तीको खण्ड्न गर्दै भन्नुभयो, “शंकाको आधारमा बोल्ने, तथ्यको आधारमा नबोल्ने, बकवासपूणर् दोषारोपणलाई खारेज गर्छौं ।”
नेकपा एमालेलाई दोष दिएर मसालले विप्लव सहितको ८ घटकसँग साठगाँठ गरेको नेता थापाको भनाई छ ।

नेता थापाले नेकपा मसालका कार्यकर्ता पार्टीको गलत नीतिले गर्दा पार्टी छाड्ने क्रम बढेको टिप्पणी गर्नुभएको छ । पार्टीका नेता तथा कार्यकर्ता पार्टीको नीति तथा कार्यक्रमको आधारमा आवद्ध हुने भन्दै नेता थापाले नेकपा मसालका कार्यकर्ता दिनप्रतिदिन पार्टी छाडेर जाने प्रवृत्ति बढेको बताउनुभयो ।

 

नेकपा एमाले मल्लरानी गाउँकमिटीले आयोजना गरेको निर्वाचन अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा नेता थापाले भोटो पुरानो भएमा फेर्नुपर्ने भएझै पार्टीको नीति पुरानो र गलत भएमा बदल्नुपर्ने धारणा राख्नुभयो । “पार्टीको नीति गलत भयो भने बदल्नुपर्छ,” उहाँले भन्नुभयो, “हाम्रो पार्टी बदल्नुपर्ने दरकार छैन ।”

पुष्पलाललाई गद्धार भन्ने नेकपा मसालका महामन्त्री मोहनविक्र सिंह अहिले लाल गद्धार भएको उहाँको आरोप छ । मसालले कांग्रेस सँग अपवित्र गठबन्धन गरेर एक थान नियुक्ति र एक थान राष्ट्रिय सभा सिट पाएर जनतालाई धोका दिने काम गरेको बताउनुभयो ।

 

नेकपा मसाल र राष्ट्रिय जनमोर्चाले बक्तव्य निकालेर नेकपा एमालेसँग सहकार्य नगर्ने घोषणा गरेको प्रशंगमा नेता थापाले भन्नुभयो, “कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाइदिएको छ ।” एमालेको साथ र सहयोगमा राष्ट्रिय जनमोर्चाले प्यूठानबाट चुनाव जितेको भन्दै अवका दिनमा एमालेले जनमोर्चालाई काध दिएर सहयोग नगर्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला सह इन्चार्ज हरि प्रसाद रिजाले पार्टी कार्यकर्तालाई अनुशासित भएर संगठन निर्माणको काममा जुट्न निर्देशन दिनुभयो । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा अनुशासनमा नबस्ने नेता कार्यकर्तालाई पार्टीले कारवाही गर्ने समेत चेतावनी दिनुभयो ।

 

नेकपा एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टले फागुन १६ गतेदेखि पालिका स्तरका भेला तथा प्रशिक्षण कार्यक्रम शुरु गरेको बताउँदै दुई महिनाको अवधिमा झण्डै ३ हजार कार्यकर्ता एमालेमा प्रवेश गरेको दावी गर्नुभयो ।

“हामी निरन्तर पार्टी निर्माण अभियानमा जुटेका छौं,” उहाँले भन्नुभयो, “व्यापक रुपमा कार्यकर्तामा जागरण पैदा भएको छ ।” पार्टीले जिल्लामा रहेका ६४ वडालाई ५७६ टोल कमिटीमा विभाजन गरि संगठन निर्माण कार्यलाई तिव्रता दिएको अध्यक्ष विष्टले बताउनुभयो ।
उहाँका अनुसार हालसम्म ३५० टोल कमिटी गठन भएका छन् । एक वर्षमा १७ हजार कार्यकर्ता बनाउने लक्ष्य सहित पार्टी अघि बढेको उहाँले बताउनुभयो । देशभरमा नेकपा एमालेको प्यूठान कमिटी उत्कृष्ट ५ भित्र पार्ने लक्ष्य रहेको समेत अध्यक्ष विष्टको भनाई छ ।

 

कार्यक्रमा एमाले नेता गंगाराम भट्टराई, एमाले प्यूठानका उपसचिव तथा प्रचार विभाग प्रमुख दिपा पौडेल, नेकपा एमाले मल्लरानी गाउँपालिका इन्चार्ज पशुपति नारायण नकर्मी, अखिल नेपाल महिला संघका मल्लरानी गाउँपालिका संयोजक इश्वरा आचार्यले बोल्नुभएको थियो ।

कार्यक्रममा विभिन्न पार्टीका ६४ जना कार्यकर्ता एमालेमा प्रवेश भएको गाउँपालिका कमिटीले जनाएको छ । गाउँपालिका कमिटी अध्यक्ष सुनिल शाही लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष याम बहादुर केसी र सञ्चालन सचिव नोमराज पौडेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *