> राष्ट्रिय > निर्माण व्यवसायीको आन्दोलन : जिल्ला प्रशासन कार्यालयमा धर्ना


निर्माण व्यवसायीको आन्दोलन : जिल्ला प्रशासन कार्यालयमा धर्ना

प्युठान । काम सम्पन्न भएका योजनाहरुको भुक्तानी लगायतका विषयको माग राखेर आन्दोलन शुरु गरेको निर्माण व्यवसायीले आज आईतबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । आन्दोलनको कार्यक्रम अन्र्तगत निर्माण व्यवसायी संघ प्यूठानले जिल्ला प्रशासन कार्यालय प्यूठानमा आज एक घण्टा धर्ना दिएको हो ।

चरणबद्ध आन्दोलन अन्र्तगत जिल्लामा पहिलो चरणको आन्दोलनका कार्यक्रम गरिएको निर्माण व्यवसायी संघ प्युठानका अध्यक्ष नविन कुमार श्रेष्ठले बताउनुभयो । विभिन्न ९ बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको, जिल्लाका राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएको र आज जिल्ला प्रशासनमा धर्ना दिएको उहाँले बताउनुभयो । माग पुरा नभए आन्दोलन थप शसक्त बनाउँदै जाने निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नविन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 


व्यवसायीले सम्पूर्ण आयोजनाहरुको म्याद थप गर्नुपर्ने, मुल्य समायोजन गर्नुपर्ने, विमाको प्रिमियम दरमा भएको बृद्धि खारेज गर्नुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् ।

 

प्युठान जिल्लाका निर्माण व्यवसायीले काम गरेबापतको रकम भुक्तानी पाउन सकेका छैनन् । सडक डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र विभिन्न स्थानीय तहबाट ३० करोड बढी रकम निर्माण व्यवसायीले भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायी संघ प्युठानका अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘१३ करोड चानचुन खानेपानी डिभिजनमा, १८/२० करोड सडक डिभिजनमा र २/३ करोड स्थानीय निकायबाट भुक्तानी लिन बाँकी छ ।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो,‘जसले गर्दा अहिले निर्माण व्यवसायी अप्ठ्यारोमा परेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *