प्यूठान । अव्यवस्थित रुपमा खोटो संकलन कार्यले प्यूठानको वन क्षेत्र मासिँन थालेको छ । सामुदायिक वनहरुबाट खोटो संकलनको अनुमति लिएका कम्पनीहरुले अव्यवस्थित खोटो संकलन गर्दा सल्लाका रुखहरु सुक्ने समस्या देखिन थालेको हो ।
ऐरावती गाउँपालिकाको सबैभन्दा धेरै हेक्टर क्षेत्रफल रहेको देवाली सामुदायिक वनमा अहिले सल्लाका रुखहरु सुक्ने र ढल्ने समस्या देखिन थालेको छ । खोटो संकलनको निश्चित विधि र मापदण्ड भए पनि सोको सहि कार्यान्वयन नुहँदा वन क्षेत्र मासिँन थालेको हो ।
खोटो संकलनको अनुमति लिनुपुर्व संकलनको मापदण्ड र तरिका बारेमा सवैलाई प्रशिक्षण गर्ने गरे पनि संकलन वेला लापरवाही गर्दा वन मासिँन थालेको स्थानीयको अनुभव छ । ‘कसरी संकलन गर्ने बारेमा सम्झौता कार्यान्वयन अघि उपभोक्ता समिति, संकलनकर्ताहरुलाई प्रशिक्षण दिइन्छ ।’ ,वन समुहकी अध्यक्ष शर्मिला थापाले भन्नुभयो, ‘सधै नियमित हेर्न भ्याईदैन, पछि हेर्दा रुख सुकिसकेका छन् ।’ सुकि सकेको रुख पनि विक्रि गर्न नपाउँदा वनमै सडेर खेर जाने गरेको उहाँले बताउनुभयो ।
खोटो संकलन कार्यविधि २०६४ अनुसार खोटो संकलन पुर्व खोटो निकाल्ने रुखहरुको एकिन गर्ने, एक सिजनमा एउटा रूखको एकापट्टीबाट मात्र निकाल्नुपर्दछ । तर खोटो संकलनकर्ताले कार्यविधि विपरीत एउटै रूखको चारैतिरबाट खालि ठाँऊ नै नछोडी मनलाग्दी रुखहरुबाट खोटो निकाल्दा समस्या उत्पन्न भएको हो ।
अव्यवस्थित खोटो संकलनले जिल्लाका अधिकांश सामुदायिक वनमा रुखहरु सुक्ने समस्या देखापरेको सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानका पुर्व अध्यक्ष दामोदर शर्माले बताउनुभयो । उमेरै नपुगेका रूखबाट पनि खोटो निकाल्ने गरेको पाईएको छ ।
जथाभावी खोटो निकाल्नाले आगलागीको जोखिम पनि उत्तिकै छ । खोटोमा लागेको आगो लामो समय टिक्ने तथा रूखको माथिसम्म आगो सल्किने हुँदा रूखहरु छिटो सुक्ने गरेको ऐरावती गाउँपालिका–६ थामका तुल्सीराम खत्रीले बताउनुभयो । ‘गाउँमा बालबालिका र बृद्धबृद्धा मात्र छन्, वनको हेरचाह र रेखदेख कस्ले गर्ने ।’ ,उहाँले भन्नुभयो, ,‘खोटोबाट केहि आम्दानी हुन्छ की भनेर सम्झौता ग¥यो आम्दानी भन्दा धेरै नोक्सानी हुने गरेकोछ ।’
डिभिजन वन कार्यालय प्यूठानले आ.व. २०८०/०८१ मा जिल्लाका ८८ वटा सामुदायिक वनबाट खोटो संकलन गर्न ५ वटा कम्पनीलाई प्रवेश पुर्जी दिएको कार्यालय प्रमुख धनिश्वर न्यौपानेले जानकारी दिनुभयो । कम्पनीहरुले चैत महिनादेखि कात्तिकसम्म खोटो संकलन गर्नेछन् । चालु आ.व.मा ९ लाख ५७ हजार ५८६ किलो खोटो संकलनका लागि प्रवेश पुर्जी दिइएको कार्यालयले जनाएको छ ।
खोटो संकलन गर्दा अपनाइने मापदण्ड पालनाका बारेमा कुनै निकायबाट अनुगमन र नियमन भने भएको छैन् ।














