प्युठान । जिल्लाको गौमुखी गाउँपालिकाले ४० युपि भन्दा माथीका मदिरा विक्रि वितरणमा रोक लगाएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै साउन १ गतेदेखि त्यस्ता मदिरा पालिका भित्र विक्रि वितरणमा रोक लगाएको हो ।
गाउँसभाको पन्ध्रौं अधिवेशनले उक्त निणर्य गरेको गाउँपालिका उपाध्यक्ष महाविर रानाले बताउनुभयो । उक्त निणर्यको प्रभावकारी कार्यान्वयनका लागि पनि कदम चालेका छौं,’ उहाँले भन्नुभयो,साउन १ गतेदेखि नै बजार अनुगमन शुरु गरिसकेका छौं ।’ उक्त निणर्यको बारेमा यसअघि नै वडा वडामा प्रचार प्रसार गरिएको समेत उपाध्यक्ष रानाले बताउनुभयो ।
गाउँपालिकाले कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने नीति समेत तय गरेको छ । गौमुखी गाउँपालिकाको सवै वडामा प्रशस्त मात्रामा कोदो फल्ने गर्दछ । अहिले कोदोबाट घरेलु मदिरा उत्पादन हुँदै आएकोमा त्यसलाई नयाँ प्रविधिबाट ब्राण्डको रुपमा उत्पादन गर्ने पालिकाको योजना छ । कोदो वार्षिक तीन सय मेट्रिकटन उत्पादन हुने पालिकाको तथ्याङ्क छ ।