सृजना सेन
प्युठान । स्वर्गद्वारी आश्रममा आज बैशाख शुक्ल पुर्णिमाको दिन भक्तजनको घुइँचो लागेको छ । बाल तपस्वि नारायण गौतमले बि.सं.१९५२ साल बैशाख शुक्ल पुर्णिमाको दिन बेद मन्त्रबाट यज्ञ स्थापना गर्नुभएको दिन आज भक्तजनको घुइँचो छ ।
बिश्व शान्तिको कामना गर्दै महाप्रभुले यज्ञ स्थापना गर्नुभएको स्वर्गद्वारी आश्रमका कोठारी प्रमुख बाशुदेब भट्टराईले जानकारी दिनुभयो । बिश्वमा धर्म हराउदै गएकोले धर्मको रक्षा गर्न महाप्रभुले यज्ञ स्थापना गरेको उहाँले बताउनुभयो । यज्ञ अनावरत रुपले चलाउन समेत महाप्रभुले आग्रह गरेर १९९७ मा परमधाम हुनुभएको उहाँको भनाई छ ।
शान्ति र मोक्ष प्राप्तीका लागि स्वर्गद्वारीमा भक्तजन पुग्ने गरेका छन । बैशाख पुर्णिमा मेला हेर्न शुक्रबार नेपालका बिभिन्न ठाउँ र भारतको उत्तर प्रदेशबाट भक्तजन पुगेका थिए ।
शंखुवासभाबाट दर्शन गर्न स्वर्गद्वारी आउनुभएका प्रेम कार्कीले पाँच पाण्डब स्वर्गद्वारी पुगेर स्वर्ग गएको सुनेर दर्शन गर्न आएको बताउनुभयो । आश्रममा पुगेर मन आनन्दित भएको उहाँको भनाई छ ।
स्वर्गद्वारीमा यज्ञ लगाएर पाँच पाण्डब स्वर्ग गएको किम्बदन्ती छ । स्वर्गद्वारी दर्शन गरेमा मोक्ष प्राप्ती हुने बिश्वास गरिन्छ । स्वर्गद्वारीमा करीब पाँच सय गाई छन । यहाँ गौमाताको दर्शन समेत गरिन्छ ।
स्वर्गद्वारीसम्म पछिल्लो समय कालोपत्रे बाटो भएकाले भक्तजनलाई पुग्न सजिलो छ । दुई हजार एक सय मिटर उचाईमा अबस्थित स्वर्गद्वारीबाट बिभिन्न हिमाल हेर्न सकिन्छ । यहाँ बैशाख पुर्णिमा, गाई तिहारे औंशी, माघे सक्रान्तिमा बिशेष मेला लाग्ने गर्दछ ।