प्युठान । राज्यले अपांगतामैत्री भौतिक संरचना निर्माणका लागि बिभिन्न निती नियम बनाएपनि व्यबहारमा लागु हुन सकेको छैन । अपांगतामैत्री भौतिक संरचना नहुदा सरकारी निकायमा अपांगता भएका ब्यक्तिले सहज रुपमा सेवा लिन सकेका छैनन ।
बुधबार राष्ट्रिय अपांग सेवा संघ प्यूठानले गरेको अपांगतामैत्री भौतिक संरचना निर्माण विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागीले अपांगताको दृष्टिकोणबाट पूर्वाधार बनाउनुपर्ने सुझाव दिएका छन् । छलफलमा अहिले बनेका भौतिक सरंचनाले अपांगता भएका व्यक्तिलाई सेवा लिन समस्या भएको भन्दै अव बन्ने संरचनामा ध्यान दिनुपर्ने सहभागीले बताएका छन् ।
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले अपांगता भएका व्यक्तिलाई सहज रुपमा सेवा प्रवाह गर्नुपर्ने भन्दै त्यसका लागि आफूले कार्यालयहरुसँग सहजीकरण गर्ने बताउनुभएको छ । उहाँले यस विषयमा सवै गम्भीर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख दुर्गा रेग्मी, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी मदन कोइराला, गैरसरकारी संस्था महासंघ प्युठानका अध्यक्ष बिजयकुमार श्रेष्ठ, सडक पूर्वाधार विकास कार्यालय प्यूठानका प्रमुख इन्जिनियर चन्द्र शाह, प्यूठान क्याम्पस प्रमुख कल्पना खड्काले आफ्नो भनाई राख्नुभएको थियो ।
लुम्बिनी प्रदेश सदस्य जुमानसिंह केसीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, मल्लरानी गाउँपालिकाको सहयोगमा सञ्चालित सिविआर(समुदायमा आधारिता पुर्नस्थनापना) कार्यक्रम अन्र्तगत अन्र्तक्रिया आयोजना गरिएको हो । कार्यक्रमको सञ्चालन सिविआर कार्यक्रम समन्वयकर्ता एवं संघका सचिव राजेन्द्र राउत क्षेत्रीले गर्नुभएको थियो ।