प्युठान । प्युठान सदरमुकाम खलंगा नजिकै रहेको पर्यटकीय स्थल मल्लरानीमा ‘फुड फेस्टिबल’ हुने भएको छ । आउदो नयाँ वर्षको अवसरमा ३ दिनसम्म कार्यक्रम गर्न लागिएको हो ।
चैत ३० गतेदेखि बैशाख २ गतेसम्म बिबिध कार्यक्रम सहित ‘फुड फेस्टिबल’ मनाउन लागिएको आयोजक प्युठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रका अध्यक्ष बासु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रम सम्पन्न गर्न अध्यक्ष श्रेष्ठको संयोजकत्वमा १०१ मुल आयोजक समिति गठन गरिएको छ । त्यसैगरी १९ सदस्यीय कार्य सम्पादन समिति गठन भएको छ ।
नेवारी लगायत बिभिन्न स्थानीय परिकारको स्वाद पस्किनुका साथै पर्यटन प्रवर्द्धनका कार्यक्रम गरिने प्युठान उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष ईमानसिंह भारतीले बताउनुभयो ।
मल्लरानी पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नका लागि बिभिन्न परियोजना निर्माणको चरणमा रहेको छ । कालोपत्रे सडक, पार्क निर्माण, जीप लाईन लगायतको काम अघि बढेको छ ।