प्युठान । ऐरावती गाउँपालिका वडा नं २ बरौलालाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा गरिएको छ । वडामा आर्थिक वर्ष २०७९।०८० मा सबै गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी हुन आएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी भएको वडा घोषणा गरिएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी गरिएको मापदण्ड २०७६ अनुसार तथा जिल्ला समन्यव सभा प्युठानद्धारा पारित पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा स्थानीय तह तथा जिल्ला घोषणा निर्देशिका २०७९ बमोजिम विभिन्न प्रक्रिया पुरा गरी पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिएको हो ।
वडा नं २ मा आर्थिक वर्ष ०७९।०८० मा कुल ५३ जना गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी भएका थिए । ऐरावती गाउँपालिका वडा नं २ का वडा अध्यक्ष तथा पुरन्ठाटी स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष भिमेस कुमार घर्ति मगरको अध्यक्षतामा भएको घोषणा कार्यक्रमको प्रमुख अतिथि ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह रहनुभएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले पालिकाका ६ वटा वडा मध्ये वडा नं २ लाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा गरिएको बताउनुभयो । घोषणासंगै यसको निरन्तरता दिनका लागि योजना बनाएर अगाडी बढन उहाँले आग्रह गर्नुभयो । सन् २०३० सम्म राष्ट्रलाई नै पूर्ण सुरक्षित मातृत्व सेवा युक्त राष्ट्र घोषणा गर्ने योजना अनुरुप हामीले पनि वडा नं २ बाट घोषणा कार्यक्रम गरेको बताउनुभयो । २ वडा संगै अन्य वडा र पालिकालाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त पालिका घोषणा गर्नका लागि योजना सहित अगाडी बढने समेत गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो ।
वडा नं २ लाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा गर्नका लागि सहयोग पुर्याउने पुरन्ठाटी स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनीधि, महिला स्वास्थ्य स्वयंमसेविका , स्वास्थ्य आमा समुह लगाएत सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो । पालिकाले चालु आर्थिक वर्ष ०८०।०८१ मा कुनैपनि गर्भवती महिला कुपोषित नहोस भन्ने उदेश्यले पोषणसम्बन्धी थुप्रै कार्यक्रम लागु गर्ने समेत पालिका अध्यक्ष शाहले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानका पहेन अधिकृत रिता न्यौपाने , ऐरावती गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बालगोपाल श्रेष्ठ, जनप्रतिनीधि, कर्मचारी, राजनीतिक दलका प्रतिनीधि, महिला स्वास्थ्य स्वयंमसेविका, स्वास्थ्य महिला आमा समुह लगाएतको उपस्थिती रहेको थियो ।
