प्यूठान, १४ भदौ । झिमरुक गाउँपालिका वडा नम्वर ६ घुम्नेठाटीमा खोप क्लिनिक भवन बनेको छ ।
गाउँका बालकालिकालाई नियमित रुपमा लगाउने मासिक खोप कार्यक्रम सञ्चालन गर्न अहिले उक्त भवन प्रयोग भएको गर्न थालिएको छ ।
भवन नहुँदा स्थानीयको घरमा खोप लगाउनुपर्ने अवस्था थियो । वर्षातको समय, गर्मी, हावाहुरीको समयमा खोप चलाउन, गाउँघर क्लिनिक सञ्चालन गर्न र आमा समुहको बैठक बस्न समस्या थियो ।
तर अहिले भवन बनेपछि यी समस्याहरु समाधान भएका छन् । बालबालिकालाई लगाउने मासिक खोप, गाउँघर क्लिनिक, आमा समुहको बैठक बस्न सहज भएको महिला स्वास्थ्य स्वयंसेविका राधा श्रेष्ठले बताउनुभयो । “भवन नहुँदा खोप चलाउन, बैठक बस्न गाह्रो हुन्थ्यो,” श्रेष्ठले भन्नुभयो, “यो भवन बनेपछि धेरै सजिलो भएको छ ।” कोरोनाका कारण पनि व्यक्तिको घरमा खोप, बैठक बस्न समस्या हुँदै आएको थियो ।
स्थानीय धनलक्ष्मी श्रेष्ठले निःशुल्क एक रोपनी जग्गा दिएपछि भवन निर्माण गरिएको हो । पालिकाभित्र ८ ठाउँमा खोप क्लिनिक भवन बनेको स्वास्थ्य शाखा प्रमुख विकास केसीले जानकारी दिनुभयो । भवन बनाउन संघीय सरकारबाट दुई लाख रुपियाँ प्राप्त हुने गरेको छ । नपुगेको रकम पालिकाबाट थप गरेर भवन बनाउने गरिएको छ ।
झिमरुक गाउँपालिकामा २८ वटा खोप केन्द्र र २० वटा गाउँघर क्लिनिक केन्द्र तोकिएका छन् । भवन नभएका ठाउँमा समेत भवन बनाउनका लागि माग गर्दै आएको प्रमुख केसीले बताउनुभयो । “भवनका लागि माग गर्दै आएका छौं,” उहाँले भन्नुभयो, “बजेट अभावमा सवै ठाउँमा भवन बन्न सकेको छैन ।” पालिकामा नियमित खोप महिनाको २ गतेदेखि ६ गतेसम्म चल्ने गर्दछ ।