सुजल श्रेष्ठ
प्युठान । जिल्लामा क्रियाशिल पत्रकारहरुलाई निर्वाचन सम्वन्धी अभिमुखिकरण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय प्युठानले आईतबार पत्रकारहरुलाई अभिमुखिकरण गर्दै जिल्लामा स्वच्छ, स्वतन्त्र र शान्तपूर्ण तरिकाले निर्वाचन गर्ने वातावरणका लागि भूमिका खेल्न आग्रह गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत देव प्रसाद योगीले सहि र सत्य समाचार सम्प्रेषण गर्नु पत्रकारको दायित्व भएको बताउँदै मंसिर ४ को निर्वाचन सफल बनाउन सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले जिल्लामा अहिलेसम्म मौखिक रुपमा मात्र उजुरी प्राप्त भएको र त्यसको मौखिक रुपमै कार्यान्वयन गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले निर्वाचन आचार संहिता उल्लंघनका घटना हुन नदिन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सवै क्षेत्रलाई निर्वाचन आचारसंहिता लाग्ने भएकाले त्यसको पालना गर्नु सवैको कर्तव्य भएको बताउनुभयो । उहाँले गएको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सफल भएको भन्दै अहिलेको निर्वाचनलाई पनि शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सवैको भूमिका आवश्यक रहेको बताउनुभयो ।
जिल्लामा मतपत्र, मतदान सामाग्री प्राप्त भइसकेको जिल्ला निर्वाचन अधिकारी देविराम पाठकले जानकारी दिनुभयो । निर्वाचनमा खटिने कर्मचारीको टुंगो केहि दिनमा लाग्ने उहाँको भनाई छ । मतदाता शिक्षा, नमुना मतदान लगायतका कार्यक्रम भइरहेको उहाँको भनाई छ ।
प्युठानमा एक लाख ५९ हजार सात सय ६० मतदाता रहेका छन् । प्रदेश क्षेत्र नं. क मा ७४ हजार छ सय ६३ र प्रदेश क्षेत्र नं. ख मा ८५ हजार ९७ रहेको जिल्ला निर्वाचन कार्यालय प्युठानले जनाएको छ ।
