> राजनीति > प्यूठानमा एमालेले थाल्यो चुनावी अभियान, ६४ वडामा मतदाता भेट्दै


प्यूठानमा एमालेले थाल्यो चुनावी अभियान, ६४ वडामा मतदाता भेट्दै

प्यूठान । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारी मनोनयन गरेलगत्तै नेकपा एमाले प्यूठानले चुनावी अभियान शुरु गरेको छ । जिल्लाका ६४ वटै वडामा पुग्ने गरि एमालेले चुनावी अभियान शुरु गरेको जनाएको छ ।

मंगलबार प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापाले झिमरुक गाउँपालिका-१ सौतामारेमा पुगेर चुनावी सभालाई सम्बोधन गर्नुभएको छ । जन्मस्थान सौतामारेमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै थापाले निर्वाचनमा विजयी हुनका लागि स्थानीयको आर्शिवाद पाएको बताउनुभएको छ ।

 


थापा एमाले पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज समेत हुनुहुन्छ । पहिलो पटक निर्वाचन लड्न थाल्नुभएका थापाले जिल्लाको मुहार फेर्नका लागि आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । प्यूठानी जनताको विकासको सपना पुरा गर्न आफू प्रतिवद्ध रहेको उहाँको भनाई छ ।

एमालेबाट प्रदेश क्षेत्र नम्वर १ मा तुल्सीराम शर्मा र क्षेत्र नम्वर २ मा हरि प्रसाद रिजाल उम्मेदवार बन्नुभएको छ । शर्माले समेत आफ्नो क्षेत्रमा पुगेर मतदाता भेटघाट शुरु गरिसक्नुभएको छ । आगामी चुनावलाई केन्द्रित गरेर टोलटोलमा मतदाता भेट शुरु भएको १ नम्वर क्षेत्र अन्र्तगतको स्वर्गद्वारी नगर कमिटीका अध्यक्ष रामप्रसाद श्रेष्ठले बताउनुभयो ।

 


एमाले जिल्ला अध्यक्ष विजय विराज विष्टले निर्वाचन अघि पनि सवै वडामा पुगेर अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको बताउँदै पुनः वडा तहसम्म पुग्ने गरि पार्टीले योजना बनाएको जानकारी दिनुभयो । मंसिर ४ गतेसम्म पार्टीका नेता कार्यकर्ता अहोरात्र खटिने उहाँले बताउनुभयो । यस पटकको निर्वाचनबाट पाँच दलीय गठबन्धनलाई प्यूठानबाट एमालेले एक्लै हराउने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *