> राष्ट्रिय > जेनजीहरुको आन्दोलनका क्रममा आगजनीमा उत्रनेहरुको सुचि तयार गर्दै प्रहरी


जेनजीहरुको आन्दोलनका क्रममा आगजनीमा उत्रनेहरुको सुचि तयार गर्दै प्रहरी

प्यूठान । गत भदौ २४ गते देशब्यापी भएको जेनजीहरुको प्रदर्शन जिल्लामा पनि भयो । खलंगा, बाग्दुला, बिजुवार, मच्छी, जस्पुर, भिंग्री, दरभान लगायतका ठाउँमा प्रदर्शन भयो ।

 

विद्यालय पुगेका विद्यार्थीहरु विद्यालय बन्द भएपछि आन्दोलनमा सहभागी भए । बादुला र बिजुवारमा प्रदर्शनकारीहरु एकीकृत भएर बिजुवारमा रहेको सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानको भवनमा पुगे । जहाँ नेकपा (एमाले)को जिल्ला पार्टी कार्यालय छ । प्रदर्शनकरीहरु भवन तोडफोडमा उत्रिए । भवन भित्र रहेका सबै सामाग्रीहरु जलाए ।

 

त्यसपछि प्यूठान नगरपालिकाका पुगेका प्रदर्शनकारीहरुले नगरपालिका भित्र रहेको तत्कालिन प्रधानमन्त्री केपि ओलि र राष्ट्रपति रामचन्द्र पौडेलको फोटो बाहिर ल्याए, जलाए । क्रमश: उनीहरुले सहिद स्मृति भवन जुम्रीमा रहेको माओबादी केन्द्रको जिल्ला पार्टी कार्यालय, बाग्दुलामा रहेको नेपाली कांग्रेसको जिल्ला कार्यालयका सामाग्रीमा आगजनी गरे ।

 

बाग्दुलाबाट खलंगा पुगेका प्रदर्शनकारीहरुले सहिद मित्रमणी-टंक आचार्य स्मृति प्रतिष्ठान भवनमा रहेको प्रतिष्ठानको कार्यालय, राष्ट्रिय जनमोर्चाको जिल्ला पार्टी कार्यालय र रेडियो प्यूठानको नवनिर्मित स्टुडियोका सबै सामान जलाए । एमालेको खलंगा स्थित सम्पर्क कार्यालयमा रहेको कम्प्युटर सहितका सामाग्री र माओवादी केन्द्रको खलंगा स्थित सम्पर्क कार्यालयका सामाग्रीमा क्षति पुर्‍याए ।

 

भवन बाहेक कुल ७६ लाख मूल्य बराबरको कार्यालय सामाग्रीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

 

आन्दोलनका क्रममा भएको ब्यक्तिगत र सार्बजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेहरुको प्रहरीले नामावली तयार गरेको छ । यस सम्बन्धमा प्रहरीले सुचि सार्बजनिक नगरे पनि उच्च श्रोतका अनुसार आन्दोलनका क्रममा प्यूठानमा भएको आगजनिमा संलग्न १ सय १७ जनाको प्रारम्भिक सुचि प्रहरीले तयार गरेको छ ।

 

`घटनासँग सन्बन्धित फोटो, भिडियोका आधारमा लिस्ट तयार भएको हो ।´ ,एक प्रहरी अधिकारीले भने, `आन्दोलनकै क्रममा खटिएका सादा पोशाकका प्रहरी कर्मचारीका आधारमा समेत बिश्वस्त सुचि बनेको छ ।´

 

घटनामा संलग्नहरुलाई कार्वाही गर्ने बारे केहि बताइएको छैन । `यो जिल्लाको मात्र नभई देशभरको घटना हो, राजनीतिक रुपले सुल्झन पनि सक्छ, आदेश आए कार्वाही पनि हुन सक्छ ।´ ,एक प्रहरी अधिकारीको भनाई छ ।

 

आगलागीको घटनामा संलग्नहरुको सुचिमा रहेकाहरूलाई प्रहरीले निगरानी राखेको समेत बुझिएको छ ।