> राजनीति > प्यूठानमा कति मतदाता थपिए ?


प्यूठानमा कति मतदाता थपिए ?

प्यूठान । सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै मतदाता नामावली संकलनको काम रोकिएको छ । यससँगै जिल्लामा कति मतदाता थपिए भन्ने विषयमा चासो शुरु भएको छ ।

 

जिल्ला निर्वाचन कार्यालय प्यूठानले जम्मा एक लाख ६४ हजार ८ सय ११ जनाको मतदाता नामावली संकलन भएको जनाएको छ । जसमध्ये पुरुष पुरुष ८० हजार ५ सय १७ जना र महिला ८४ हजार २ सय ९३ जना र एक जना तेस्रो लिंगी रहेको निमित्त निर्वाचन अधिकारी विरेन्द्र घर्तिले जानकारी दिनुभयो ।

 

संकलन भएका नामावलीमध्ये कतिले मतदान गर्न पाउने भन्ने अझै एकिन भएको छैन । निर्वाचन आयोगले तथ्यांक अद्यावधिक गरेर जिल्लामा नाम पठाउनेछ । अहिले जिल्ला निर्वाचन कार्यालयले जिल्लामा दर्ता भएका नामावली बाहिरी जिल्लाको व्यक्तिको हकमा बाहिरी जिल्ला पठाउने काम गरेको छ । त्यसैले संकलित नामावली मध्ये मतदान गर्नेको एकिन विवरण आइनसकेको घर्तिले बताउनुभयो ।

 

चालु आर्थिक वर्षमा मात्र १३ हजार ३ सय ९६ जनाको नामावली संकलन भएको छ । यस अवधिमा निर्वाचन कार्यालयले शिविर समेत सञ्चालन गरेको थियो । यस बाहेक जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट नियमित नामावली संकलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *