प्यूठान । शैक्षिक शत्र शुरु भएको पाँच महिनासम्म विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन । समयमै पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
माण्डवी गाउँपालिका–१ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक याम बहादुर के.सी.ले कक्षा ४, ६ र ८ को पुस्तक पाउन नसकिएको बताउनुभयो । “किताव विना नै त्रैमासिक परिक्षा गराईयो,” प्रधानाध्यापक के.सी.ले भन्नुभयो, “अझै किताव पाउन सकिएको छैन ।”
विद्यार्थीले किताब नहुँदा राम्रोसँग अध्ययन नगर्ने समस्या छ । नौबहिनी गाउँपालिकाको दुर्गा माध्यमिक विद्यालयका शिक्षक शुसिला गिरीले विद्यार्थीले घरमा गएर गृहकार्य गर्न, अध्ययन गर्न किताब नहुँदा समस्या भएको बताउनुभयो । “विद्यार्थीले गृहकार्य गर्दैनन,” उहाँले भन्नुभयो, “किताब नभएकाले पढाउन समस्या भएको छ ।”
यस वर्षदेखि नयाँ पाठ्यक्रम समेत लागु भएको छ । कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम लागु भएको माण्डवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले बताउनुभयो । “नयाँ पाठ्यक्रमबारे शिक्षकलाई अभिमुखिकरण गरियो,” उहाँले भन्नुभयो, “तर अहिलेसम्म किताव आएको छैन ।” किताव नभएपनि नयाँ पाठ्यक्रम वेभसाईटमा हेरेर पठनपाठन गराइएको उहाँको भनाई छ ।
किताव नहुँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको ऐरावती गाउँपालिका ३ स्थित धर्मोदय माध्यमिक विद्यालयका शिक्षक शरद पोख्रेलले बताउनुभयो । केहि पुस्तक हालै आएको र अझै पुस्तक अपर्याप्त भएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा कक्षा ६, ८, ११ र १२ कक्षाको किताब अभाव छ । त्यस बाहेकका किताव पनि प्रयाप्त छैनन् । “नेपालगञ्ज, बुटवल, भरतपुर केन्द्रमा किताव छैन,”नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाइी महासंघका सचिव रमेश गिरीले भन्नुभयो, “केन्द्रमा पनि पुस्तक अभाव छ ।”
