प्यूठान । जिल्लाका ५ वर्षदेखी ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप दिन थालिएको छ । ३८ हजार ४९४ बालबालिकालाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार बालबालिकालाई विद्यालयमै खोप केन्द्र बनाएर खोप लगाउने योजना छ । अन्तिम दिन स्वास्थ्य संस्थाबाट छुटेका बालबालिकालाई खोप दिईने खड्काले बताउनुभयो । बालबालिकाका अभिभावकको समेत सहभागितामा खोप लगाउने तयारी कार्यालयको छ ।
बालबालिकालाई लगाईने फाइजर बायोएनटेक खोप जिल्लामा आइसकेको कोल्नचेन अधिकृत कौशलराज वैद्यले जानकारी दिनुभयो । खोपको बारेमा सरोकारवाला निकाय र स्वास्थ्यकर्मीलाई जानकारी दिइसकिएको उहाँले बताउनुभयो । प्राप्त खोप खेर नजाने गरि प्रयोगमा ल्याउन आफूहरुले सुक्ष्म योजना बनाएको समेत वैद्यको भनाई छ ।
खोप अभियान सञ्चालनका लागि खोप केन्द्र ३७८, स्वास्थ्यकर्मी ५०९ र स्वयंसेवक एक हजार १८ जना खटिनेछन् । पहिलो चरण भदौ ५ देखि ११ गते र दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म लगाउने कार्यतालिका छ । कार्यालयले आज पत्रकार भेटघाट गरेर खोप अभियानको बारेमा जानकारी गराएको हो ।