> आर्थिक/बिकास > नौमुरेको अन्र्तगत ३ वटा जलविद्युत आयोजना बन्ने, १४३६ घरपरिवार प्रभावित


नौमुरेको अन्र्तगत ३ वटा जलविद्युत आयोजना बन्ने, १४३६ घरपरिवार प्रभावित

प्यूठान, १२ भदौ । प्यूठान र अर्घाखाँचीको सिमाना ‘नौमुरे’ मा निर्माण हुने नौमुरे बहुउदेश्यीय आयोजनाको चर्चा वर्षौदेखि चल्दै आएको छ ।

लुम्बिनी प्रदेशकै ठूलो विद्युत आयोजनाको रुपमा रहेको नौमुरे निर्माणको चर्चा वर्षौदेखि हुँदै आएपनि निर्माण अघि बढ्न नसकेको भन्दै पटक-पटक सम्वन्धित निकायमा ज्ञापन पत्र, माग पत्र बुझाउने काम समेत गरिएको छ ।

 

अहिले आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन सार्वजनिक भएपछि पुनः यसबारेमा चर्चा हुन थालेको छ । नौमुरे बहुउदेश्यीय आयोजना निर्माणले वातावरणमा के-कस्तो असर पुग्छ भनेर गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनमा उल्लेखित विषयमा राय सुझाव दिन एक हप्ताको सूचना जारी गरिएको हो ।

 

कहाँ कति प्रभाव ?
प्यूठान, अर्घाखाँची, दाङ र कपिलवस्तु जिल्लामा प्रभाव पार्ने
प्यूठानको सरुमारानी गाउँपालिका (१, २,३,४,५,६), ऐरावती गाउँपालिका (१, २, ३, ४, ५ र ६) र माण्डवी गाउँपालिका (१, २, ३, ४ र ५)
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका (३, ४, ५ र ६), मालारानी गाउँपालिका (५, ८ र ९), शितगंगा नगरपालिका (१, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११)
कपिलबस्तुको शिवराज नगरपालिका (१, २ र ९), बुद्धमुभि नगरपालिका (१, २, ३, ४ र ५), विजयनगर नगरपालिका (१ र २)
दाङको राप्ती गाउँपालिका ( १ र २), गढवा गाउँपालिका (१), बंगलाचुली गाउँपालिका (७, ८ र ९)

 

३ वटा विद्युत आयोजना बन्ने
नौमुरे बहुउदेश्यीय अन्र्तगत ३ वटा जलविद्युत आयोजनाबाट २८१.०४ मेगावाट जलविद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ । नमुरे जलविद्युत आयोजना, लामाताल जलविद्युत आयोजना र सुराई-नाका जलविद्युत आयोजना रहेका छन् ।

 

नौमुरे जलविद्युत आयोजना
नौमुरेमा १६९ मिटर अग्लो कंक्रिट फेस रक फिल्ड बाँध निर्माण हुनेछ । जहाँ भुमिगत जलविद्युत गृह निर्माण कार्य गरी ३ वटा टर्वाइनको मद्धतले करीव २१८.३४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

यस जलविद्युत आयोजनाको डिजाइन डिस्चार्ज १५४ घनमिटर प्रतिसेकेण्ड तथा कूल हेड १६०.३ मिटर रहेको छ । माडी नदी तथा झिमरुक नदीको दोभानबाट करीव १.५ किलोमिटर तल्लो तटीय क्षेत्रमा मुख्य बाँध रहनेछ । भौगोलिक तथा भौगर्भिक हिसावले उपयुक्त स्थानमा छनौट गरिएको उल्लेख गरिएको छ ।

 

 

लामाताल जलविद्युत आयोजना
नौमुरे बहुउदेश्यीय अन्र्तगत अर्को आयोजना लामाताल आयोजना हो । जुन नौमुरेबाट करीव ६ किलोमिटर तल्लो तटीय भू-भाग अन्र्तगत अर्घाखाँचीको लामाताल गाउँमा पर्छ । अर्घाखाँचीको कालिखोला नजिक करीव १५.५ मटिरको उचाई भएको बाँध निर्माण गरि पानीलाई चौविसै घण्टा प्रवाह गरिनेछ ।

लामाताल गाउँमा रहने अर्ध भूमिगत विद्युत गृहका ३ वटा टर्वाइनद्धारा ८ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । यस आयोजनाको डिजाइन डिस्चार्ज १३६.२ घनमिटर प्रति सेकेण्ड तथा कूल हेड ७ मिटर रहनेछ ।

 

सुराईनाका जलविद्युत आयोजना
लामाताल जलविद्युत आयोजनाको विद्युत गृहबाट निस्कने पानीको प्रयोग गरि करीव १८ किलोमिटर लामो सुरुङ मार्फत अर्घाखाँची र कपिलवस्तु जिल्लाको सिमानामा रहने सर्ज ट्यांक मार्फत पानीलाई प्रवाह गरि कपिलवस्तुको शिवराज नगरपालिका १ मा रहने विद्युत गृहबाट करीव ५४.७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

 

अर्ध भूमिगत जलविद्युत गृहमा २ वटा टर्वाइनको मद्धतले डिजाईन डिस्चार्ज ४१.६ घनमिटर प्रति सेकेण्ड तथा कूल हेड १४१.६६ मिटरको प्रयोग गरिनेछ ।

 

पहुँच मार्ग निर्माण
प्रस्तावित आयोजनाको नौमुरे जलविद्युत आयोजनाका लागि झिलिवाङदेखि आयोजना क्षेत्रसम्म २२.९४ किलोमिटर पहुँच मार्ग निर्माण गरिनेछ ।

त्यसैगरि लामाताल जलविद्युतका लागि झिलिवाङ देखी आयोजना क्षेत्रसम्म २२.९४ किलोमिटर र सुराईनाका जलविद्युत आयोजनाका लागि पूर्व-पश्चिम राजमार्गबाट सर्ज ट्यांकसम्म ५.१७ किलोमिटर पहुँचमार्गको निर्माण गरिने प्रस्ताव गरिएको छ ।

 

२५३४ हेक्टर क्षेत्रफल जग्गा आवश्यक
प्रस्तावित आयोजनाको लागि कूल २५३४.९९४ हेक्टर जग्गा प्रस्ताव गरिएको छ । जसमध्ये २५१४.१०८ हेक्टर स्थायी र २०.८८५ हेक्टर अस्थायी आवश्यक पर्दछ । सरकारी स्वामित्वको वन क्षेत्र, नदी किनारा तथा बगर गरी १५०६.१२ हेक्टर पर्दछ भने नीजि स्वामित्वको १०४६.३२ हेक्टर जमिनको आवश्यकता पर्ने प्रस्ताव गरिएको छ ।

 

१४३६ घरपरिवार प्रभावित
प्रस्तावित आयोजनाबाट १ हजार ४३६ घरपरिवार प्रभावित हुने भएका छन् । वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन अनुसार प्यूठानको सरुमारानी गाउँपालिकामा ३४२, ऐरावती गाउँपालिकामा ३८१, माण्डवी गाउँपालिकामा १९२, अर्घाखाँचीको शितगंगा नगरपालिकामा ३२८, भुमिकास्थान नगरपालिकामा १८१, कपिलवस्तुको शिवराज नगरपालिकामा १२ घरपरिवार प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *