आर्थिक/बिकाससमाज

आईटी बाट निर्माण हुँदै कृषिमा रम्दै श्रेष्ठ

सुजल श्रेष्ठ

प्यूठान । नाम जस्तै नविन काम गर्न रुचाउने नविन श्रेष्ठ अहिले कृषि खेतिमा लाग्नुभएको छ । प्यूठान नगरपालिका-४ विजुवार निवासी श्रेष्ठ कुनै समय आईटी क्षेत्रमा सफल र सक्रिय रहनुभयो ।

 

“१२/१३ वर्ष जति काठमाण्डौंमा आईटी क्षेत्रमा काम गरे,” विगतमा आफूले गरेको काम सम्झिदै श्रेष्ठ भन्नुहुन्छ, “त्यसपछि जिल्लामै आईटी क्षेत्रमा काम गर्नुपर्छ भनेर प्यूठानमा आएर पनि लामो समय काम गरे ।”

“त्यतिवेला प्यूठानमा इन्टरनेट थिएन,” श्रेष्ठले भन्नुभयो, “गुल्मीको रेसुङ्गाबाट खैरा स्थित लिस्नेको टावरमा लिङ्क गरेर पहिलो पटक नेट (फास्ट नेट) ल्यायौं । त्यो सफल नभएपछि वर्ड लिङ्क ल्याइयो ।”

 

जिल्लामा नयाँ काम गरौं भनेर लाग्दै आएको श्रेष्ठको भनाई छ । त्यसकै सिलसिलामा आफू निर्माण क्षेत्रमा समेत जोडिएको उहाँले बताउनुभयो । श्रेष्ठ निर्माण क्षेत्रमा समेत सफल व्यवसायीको पहिचान दिनुभएको छ । उहाँ अहिले निर्माण व्यवसायी संघ प्यूठानको अध्यक्ष हुनुहुन्छ ।

 


श्रेष्ठ र लोक बहादुर गुरुङ मिलेर झिमरुक फाँटमा इशान एग्रो फार्म सञ्चालनमा ल्याउनुभएको छ । जहाँ अहिले ड्रागन फ्रुट लटटरम्म फलेका छन् । “नयाँ काम गर्ने शिलशिलामै ड्रागन खेतीमा आइपुगेको हो,” श्रेष्ठले भन्नुभयो, “शुरुमा टर्की र कडकनाथ मात्र पाल्ने योजना थियो, पछि यो पनि गरौं भनेर ड्रागन शुरु गरेका हौं ।” जिल्ला बाहिर मार्केटमा चलेको तर जिल्लामा नभएको व्यवसाय गरेर जिल्लामा मार्केट बनाउन सकिने भन्दै यसतर्फ लागेको उहाँको भनाई छ ।

 

०७८ माघमा लगाएको ड्रागन उत्पादन शुरु भइसकेको छ । अहिलेसम्म दुई लट गरेर ३ सय केजी विक्री गरिसकेको श्रेष्ठले बताउनुभयो । “करिव ३ हजार बेर्ना लगाइएको हो,” श्रेष्ठले भन्नुभयो, “१५ महिनामै उत्पादन दिन थाल्यो ।” फार्म रहेको १५ रोपनी जग्गा मध्ये १० रोपनीमा ड्रागन खेती गरिएको छ ।

“यो हाम्रो पहिलो उत्पादन हो, पछि एउटा वोटबाट ४० केजीसम्म फल्छ भन्ने छ,” श्रेष्ठले भन्नुभयो । ड्रागन खेतीका लागि करीव ५५ लाख रुपियाँ लगानी लागेको श्रेष्ठको भनाई छ । इशान कन्ट्रक्सनको टिम नै फार्ममा जोडिएको छ । “कन्ट्रक्सनका सवै कर्मचारी फार्ममा जोडिएका छौं,” उहाँले भन्नुभयो, “साईटमा काम नभएको समयमा फार्ममा काम गर्छौं ।” फार्म अवलोकनका लागि समेत सरकारी, गैरसरकारी तथा व्यक्तिगत रुपमा मानिसहरु पुग्ने गरेका छन् ।

फार्मलाई अग्र्यानिक उत्पादनको रुपमा विकास गर्ने योजना रहेको श्रेष्ठले सुनाउनुभयो । अहिले फार्ममा कुरिलो खेती समेत शुरु गरेको श्रेष्ठले बताउनुभयो । “५ सय विरुबाट यो खेति शुरु गरेका छौं,” श्रेष्ठले भन्नुभयो । अर्गानिक टमाटर, तरकारी उत्पादन गर्ने योजना अनुसार टनेलहरु निर्माण गर्न थालेका छौं । उहाँले भन्नुभयो,“४ वटा टनेल पनि बनिसकेको छ ।”

Related Articles

Back to top button