प्यूठान । कोभिड-१९ बाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले एक लाख रुपियाँका दरले राहत उपलब्ध गराउने भएको छ । उक्त राहत रकम जिल्ला प्रशासन कार्यालय मार्फत वितरण गर्न लागिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले प्रदेशबाट रकम प्राप्त भएको र स्वास्थ्य कार्यालय प्यूठानबाट पालिकागत तथ्यांक प्राप्त भएको जानकारी दिनुभयो । उहाँले सम्वन्धित व्यक्तिबाट निवेदन प्राप्त भएपछि वितरण गर्ने बताउनुभयो ।
यस वर्ष ७२ जनाको राहत आएको स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत पुष्कल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस अघिका आर्थिक वर्षमा २० जनाले राहत प्राप्त गरेका छन् ।
राहत प्राप्त गर्नका लागि आवश्यक कागजात सहित सम्वन्धित पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरेर जिल्ला प्रशासन जानुपर्ने श्रेष्ठले बताउनुभयो । कतिपय व्यक्तिको आवश्यक कागजात नआईपुगेकाले उक्त कागजात उपलब्ध गराउन पालिकालाई खवर गरेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।